विमानस्थलको फाइल कर्मचारीले अड्काएर राखेको भन्दै त्यसलाई अघि बढाइदिन आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विमानस्थलको फाइल कर्मचारीले अड्काएर राखेको भन्दै त्यसलाई अघि बढाइदिन आग्रह


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । सहरी विकास मन्त्री सीता गुरुङले विमानस्थल निर्माण योजनाको फाइल कर्मचारीले अड्काएर राखेको भन्दै त्यसलाई अगाडि बढाइदिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीलाई आग्रह गरेकी छन् ।

मन्त्री गुरुङ बुधबार तेह्रथुमका जनप्रतिनिधिसहित ‘डेलिगेसन’ लिएर चुहानडाँडा विमानस्थल बनाउने योजना अघि नबढेको भन्दै पर्यटन मन्त्रालय पुगेकी हुन् ।

उनले दशकअघिदेखि विमानस्थल निर्माणकालागि निरन्तर धाइरहे पनि कर्मचारीले फाइल अड्काएर राखिदिएको गुनासो गरिन् ।

उनले भनिन्, ‘मैले दशकभन्दा पहिलेदेखि यो योजनामा मन्त्रालय धाइरहेको छु । विमानस्थलको सर्वे र सम्भाव्यता अध्ययन भइसकेको छ। तर त्यसपछि मन्त्रालयमै फाइल अड्किएको छ । मन्त्रालयमा रोकिएको फाइल शीघ्र अघि बढाइदिनुहोला, बजेट दिनुहोला । सबै सम्भाव्यता भइसक्दा विमानस्थल निर्माण गर्न उपयुक्त छ भन्ने निष्कर्ष छ । फेरि विमानस्थल निर्माण किन अघि बढेन ? तपाईँले सोधी खोजी गरेर फाइल अघि बढाइदिनुहोला । हिजो के भयो ? मैले जवाफ दिन सक्दिनँ । तर अब त्यसबारे बुझ्छु । भोलि नै यहाँबाट फाइल अगाडि बढ्छ ।’

डेलिगेसन टोलीमा तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमसहित वडाध्यक्षहरूसमेत सहभागी थिए । मन्त्री किराँतीले आफूले तत्कालै त्यसबारे बुझेर फाइल अघि बढाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस