अर्गानिक साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्गानिक साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो


२२ चैत्र २०७९, बुधबार


रामपुर (पाल्पा) । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ। साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दै आएको छ।

नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन्। हातमा सीप भयो भने महिला अरूको भरमा निर्भर रहनु पर्दैन। घरमै बसी-बसी आयआर्जन गर्न सकिन्छ।

बिहान-साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घर खर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहेका छन्।

रामपुर नगरपालिका-२ स्थित सिम्लेमा ‘अर्गानिक साबुन उद्योग’का नाममा समूहमा महिलाले नुहाउने साबुन तयार पारिरहेका छन्। साबुन बनाउने छ दिनको तालिम नगरपालिकाले दिएपश्चात् समूहमा मिलेर अहिले साबुन बनाउन थालेको अध्यक्ष सीता घर्ती बताउँछन्।

‘स्थानीय उत्पादन भएकाले गाउँघरकै ग्राहकले खरिद गरिरहनुभएको छ, गाउँमा राम्रै खपत भइरहेको छ,’ उनले भनिन्।

हाललाई गाउँघरमा हुने विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठी, बजार जाँदा साथमै बोकेर साबुन लिएर जाने र व्यक्ति-व्यक्तिलाई साबुन बेच्ने गरिरहेको अध्यक्ष घर्तीले बताइन्। गत असारमा छ दिनसम्म साबुन बनाउने तालिम लिएपश्चात् साउनदेखि नै व्यावसायिक उत्पादन सुरु गरिएको हो। भदौमा रामपुर नगरपालिकामा ‘अर्गानिक साबुन उद्योग’को नाममा संस्था दर्ता गरी साबुन बनाउन थालिएको अध्यक्ष घर्तीले बताइन्।

हालसम्म एक हजार थानभन्दा बढी साबुन उत्पादन गरी बिक्री गरिएको छ। तालिममा सहभागीलाई नगरपालिकाले साबुन बनाउने सामग्री, कच्चा पदार्थ पेल्ने उपकरणलगायत उपलब्ध गराएपछि तालिमलगत्तै साबुन बनाउन महिलाले सुरु गरेका हुन्।

निम, कागती, पाती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह आदिबाट साबुन तयार पारिएको सरिता खड्काले बताइन्। गाउँघरमा प्रशस्त मात्रामा पाइने कच्चा पदार्थबाट साबुन तयार पार्न सहज भएको छ। कच्चा पदार्थ तयार रहेको खण्डमा आधा घण्टादेखि बढीमा एक घण्टाको अवधिमा प्रयोग गर्न मिल्ने गरी साबुन तयार हुने गर्दछ।

साबुन बनाउन थालेपछि सामान्य खर्चका लागि अरूसँग हात थाप्नु नपरेको र उत्पादन बढाएर आत्मनिर्भर बन्ने सोच राधा खण्डलुकले राखेकी छन्। यहाँ उत्पादन भएको साबुन हाल प्रतिथान ९० रुपैयाँमा बिक्री भइरहेको छ। समूहमा उत्पादन भएको साबुनबाट आर्जन गरेको खर्चले उद्योगमा नै लगानी गरिरहेको र उत्पादन गरेको साबुन बिक्री गर्दा खर्च चलाउन सजिलो भएको केशमाया राउत बताउँछिन्।

‘हातमा सीप नहुँदा महिला पछाडि परियो, अहिले रामपुर नगरपालिकाले सीप दिएपछि हामीमा केही गर्नुपर्छ भन्ने जोश र आत्मबल बढेको छ, कच्चा पदार्थमा लगानी गर्न नपरेपछि राम्रै फाइदा हुने देखिएको छ,’ उनले भनिन्।

यहाँका छ महिलाले प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले रकम उठाएर उद्योग सुरु गरेका हुन्। अहिले उनीहरूले साबुन बिक्रीबाट आर्जन गरेको रकम उद्योगमै लगानी गरिरहेका छन्।

साबुन बनाउन आवश्यक पर्ने बेस तेल खरिद महँगो पर्ने र रामपुरमै उपलब्ध नहुँदा बाहिरबाट ल्याएर बनाउँदा कहिलेकाहीँ तेल अभावमा बनाउन समस्या पर्ने गरेको छ। प्रतिकिलो पाँच सय ५० रुपैयाँमा पोखरा, दुलेगौडा बजारबाट ल्याउनुपर्दा केही आम्दानीको रकम ढुवानीमा खर्चनुपरेको छ।

प्याकेजिङ मेसिनको आवश्यकता छ। गाउँका महिलाको आयस्रोत नहुँदा उद्योगमा ठूलो लगानी गर्न सक्ने अवस्था छैन। अनुदान र सामग्री सहयोग पाए उत्पादन बढाउने सोच छ। नुहाउने साबुनका साथै लुगा धुने साबुन बनाउने तालिमको आवश्यकता भएको राउत बताउँछिन्।

रामपुर नगरपालिका-२ का वडाध्यक्ष कृष्ण दर्जीले यस वर्ष वडामा महिलालाई साबुन बनाउने सीप विकास तालिम आयोजना गरिएको र अर्को वर्ष व्यावसायिक साबुन उत्पादन गर्न बजेट विनियोजन गर्ने बताए। तालिममा सहभागी अधिकांश महिला साबुन बनाउन थालेका छन्।

महिलालाई व्यवसायमा सहयोग गर्दै उत्पादन बढाउन उत्प्रेरित गर्ने र उद्यमीलाई थप सीप विकास गर्न गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत पुर्न ताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन्।

महिला सशक्तीकरण र आर्थिक क्षेत्रमा उनीहरूलाई अब्बल बनाउन नगरपालिकाले सीपमूलक कार्यक्रममा लगानी गरिरहेको र लगानीअनुसार उपलब्धि राम्रै भइरहेको नगरप्रमुख रमण बहादुर थापा बताउँछन्।

‘नगरपालिकाभित्र उत्पादन भएका सामग्री बजारीकरण गर्न सहयोग गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘धेरै उत्पादन भए बजारीकरण गर्न सहज हुनेछ, उत्पादित सामग्री नगरले व्यवस्थापन गर्छ।’

गरिबी निवारण लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्बर १ मा २० महिलालाई झोल साबुन उत्पादन र वडा नम्बर ९ मा २० जनालाई चप्पल बनाउने तालिम प्रदान गरिएको छ। अघिल्ला आर्थिक वर्षमा वडा नम्बर २ मा २५ जनालाई नुहाउने साबुन, वडा नम्बर ३ मा १० जनालाई सिलाइकटाइ, वडा नम्बर ३ र ४ वडाका २० जनालाई संयुक्तरूपमा दुनाटपरी, वडा नम्बर ५ मा १० जनालाई ढाका बुनाइ, वडा नम्बर ६ मा ३० जनालाई आलु चिप्स, वडा नम्बर ७ मा ११ जनालाई पशुपालन, कृषि, वडा नम्बर ८ मा १८ जनालाई सरफ, वडा नम्बर ९ मा चप्पल बनाउने तालिम सञ्चालन भइसकेको छ भने वडा नम्बर १० मा कार्यक्रम हुन बाँकी छ।

आव २०७७/७८ देखि रामपुर नगरपालिकाभित्र सुरु भएको यस कार्यक्रमअन्तर्गत विभिन्न सीपमूलक तालिम सम्पन्न भइसकेका छन्। यस कार्यक्रमअन्तर्गत उद्यमी बनाउन छ चरणमा कार्यक्रम चलाइएको छ।

सामाजिक परिचालन, उद्यमशीलता (व्यवसायसम्बन्धी ज्ञान, सीप दिने), सीप विकास तालिम, प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरण छन्। कार्यक्रम लागू भएदेखि हालसम्म सामाजिक परिचालन, उद्यमशीलता, सीप विकास तालिम कार्यक्रम सम्पन्न भइसकेका छन् भने प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरणको कार्यक्रम गर्न बाँकी छ।

चालु आवमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्न सङ्घीय सरकारबाट ३५ लाख बजेट प्राप्त भएको छ। सो बजेटमध्ये २३ लाख ८० हजार रुपैयाँ नयाँ लघुउद्यमी सिर्जना, छ लाख २० हजार रुपैयाँ स्तरोन्नति, उद्यमीघर तयार पार्न पाँच लाख रुपैयाँ बजेटबाट कार्यक्रम सञ्चालन गरिरहेको उद्यम विकास सहजकर्ता रुपबहादुर सिंजालीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस