सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ आज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ आज


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

त्यसपछि आज बुधबारका लागि सुनुवाइ पेसी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटक पटक बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।

तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस