रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको मुद्धाको आज प्रारम्भिक सुनुवाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको मुद्धाको आज प्रारम्भिक सुनुवाइ


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।

सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आज मंगलबारलाई पेसी तोकेको छ।

लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।

अधिवक्ता युवराज पौडेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन्। आइतबार दायर गरिएको रिट सर्वोच्चले अध्ययनपछि सोमबार दर्ता गरेको हो।

लामिछानेले अमेरिका र नेपालको दोहोरो राहदानी एकसाथ प्रयोग गरी राहदानी दुरुपयोग गरेको भन्दै अधिवक्ता पौडेलले नै गृह मन्त्रालयमा उजुरी दिएका थिए। उक्त उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ हुँदै प्रहरी परिसर काठमाडौँ पुगेको थियो। सोही उजुरीका आधारमा प्रहरीले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको प्रकरणमा अनुसन्धान गरेको थियो।

नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो ।

अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस