प्रतिनिधिसभा नियमावली मस्यौदा पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो ।

छलफलका क्रममा सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य लेखकले सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

जवाफको क्रममा समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरूलाई मस्यौदामा स्वीकार गरिएको सभालाई जानकारी गराएका थिए ।

यसैगरी, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९०’ पेस गरेका थिए ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाएका थिए ।

बैठकको सुरुमा सभामुख घिमिरेले आज मात्र शपथ लिएका जनता समाजवादी पार्टी नेपालका समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीलाई बैठकमा स्वागत गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस