संघीय निजामती ऐन चालु संसद अधिवेशनबाटै पारित गर्छु : प्रधानमन्त्री « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघीय निजामती ऐन चालु संसद अधिवेशनबाटै पारित गर्छु : प्रधानमन्त्री


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन चालू संसद अधिवेशनबाटै पारित गर्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरू नहुँदा अहिले संविधानले अङ्गीकार गरेको मर्म र भावना अनुसार सङ्घीयता कार्यान्वयन नभएकाले अब सो ऐनहरू बनाएर अगाडि जाने कुरामा सरकार दृढ रहेको समेत बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको सरकारको ध्यान संघीय निजामती ऐन बनाउने र अन्य समायोजनसँग सम्बन्धित ऐनहरू पनि बनाएर अगाडि जाने कुरामा दृढ छ । संघीय निजामती ऐन अन्तिम चरणमा छ । मेरो कोसिस छ । यही सदनमा यसलाई प्रस्तुत गर्ने र त्यसलाई पारित गरेपछि अहिलेका धेरै अन्यौलहरु समाप्त हुन्छन् ।’

प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयनको कामलाई गति दिनका लागि पनि सरकारले सो विधेयकलाई चालू संसद अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजाने बताएका छन् ।

सिंहदरवारको अधिकार जनताको घरदैलोमा पुर्‍याउने संविधानको मर्म अनुसार सङ्घीयता कार्यान्वयनको कामलाई तीव्रता दिन पनि सोसँग सम्बन्धित ऐन निर्माणको कामलाई ढिलाइ गर्न नहुने पनि प्रधानमन्त्रीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस