‘गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन ?’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन ?’


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनेर प्रश्न गरेका छन् ।

मङ्गलवार मिटर ब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाही विरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको लिङ्देनले बताए ।

उनले भने, ‘एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरूसँग ऐक्यबद्धता व्यक्त गर्न जाँदाखेरि सत्ता पक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास गरियो म त्यसको भर्त्सना गर्दछु । म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजा बादी हुने छुट कुनै नागरिकलाई छैन ? हामीले कुनै बेला द्वन्द्व पनि ल्याउँछ भनेका थियौँ, अहिले पूर्वमा त्यही भइरहेको छ ।’

अध्यक्ष लिङ्देनले मिटर ब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह गरेका छन् ।

उनले कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलन मुठभेडतर्फ अघि बढेको भन्दै सरकारले अनदेखा गरिरहेको बताए । उनले भने, ‘पूर्वमा भएको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिँदा मान्छेको ज्यान जाने, घाइते हुने भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस