भीम रावलको प्रश्न : मैले पार्टीभित्र के गम्भीर गल्ती गरेँ देखाउनुहोस् ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भीम रावलको प्रश्न : मैले पार्टीभित्र के गम्भीर गल्ती गरेँ देखाउनुहोस् ?


१४ चैत्र २०७९, मंगलबार


धनगढी । नेकपा एमालेका नेता भीम रावलले आफूले पार्टीभित्र गरेका गम्भीर गल्ती देखाउन पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई चुनौती दिएका छन्।

मङ्गलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले राष्ट्रहित र कानुन विपरीत सरकारले गरेका कामको आलोचना गर्नु पार्टी भित्रका गम्भीर गल्ती हुन् ? भन्दै प्रश्न गरेका छन्।

नेता रावलले भने, ‘मैले जहिले पनि राष्ट्रहित, मानवअधिकारको रक्षा, देश र जनताको पक्षमा बोलेको छु। पार्टीभित्र भएका गम्भीर त्रुटि सच्याउन सशक्त भएर आवाज उठाएको छु। राष्ट्रिय सन्धि–सम्झौता र परराष्ट्र नीति बिथोलिन नदिन सदनमा विरोध गर्नु मेरो गम्भीर गल्ती भए केही भन्न सक्दिनँ। यदि यी बाहेक केही हुन् भने तपाईँले बुँदागत रूपमा मलाई जवाफ दिनुहोस्। के देशका जनतालाई विषादी खुवाउ मैले भन्नुपर्छ ?, हाम्रा सिमाना मिचिएका ठिक हुन् मैले भन्नुपर्छ, संयुक्त सैन्य सन्धि गरेर परराष्ट्र नीति सिद्ध्याऊ मैले भन्नुपर्छ, पार्टीमा अब प्रत्येक तहमा निर्वाचन होइन, टिके प्रथा गरौँ मैले भन्नुपर्छ। यदि कसैले भन्नुपर्छ भने त्यो पार्टीको नीति, विधान तथा पार्टीका अधिवेशनबाट स्थापित घोषणापत्र विपरीत हुन्छ। यस कारण मैले कुनै पनि निर्णयको उल्लङ्घन गरेको छैन। पार्टीका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्रका मानिसप्रति आक्षेप लगाउने काम गरे। जसको विरोधमा कार्यकर्ताले सशक्त आवाज उठाएका छन्। मेरो जिल्लामा कार्यक्रम भयो। पार्टीका सिद्धान्त, विचार लगायतका बारेमा जानकारी दिने उद्देश्य रहेको थियो। कुनै पनि विवाद नगर्ने सहमति भएको रहेछ। पार्टीलाई बलियो बनाएर कसरी अघि जाने भन्ने कुरा थियो तर, त्यो कार्यक्रममा एक जना व्यक्तिले मलाई नै सोझ्याएर प्रहार गरे । त्यहाँ सहभागी कार्यकर्ताले विरोध गरेका हुन्।’

अछाम पुगेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलले नेता रावलले पार्टीभित्र गम्भीर गल्ती गरेको, पार्टीका हरेक निर्णय अस्वीकार गरेको, दिएका जिम्मेवारी नमानेको आरोप लगाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस