लुम्बिनी सरकारले प्रदेशका ६ खेलाडीलाई सम्मान गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी सरकारले प्रदेशका ६ खेलाडीलाई सम्मान गर्ने


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल भएका प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ खेलाडीलाई जनही एक लाखसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सहित खेलाडीलाई सम्मान गरिने बताए ।

नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्युठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

त्यस्तै यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच खेलाडीलाई पनि जनही रु ५० हजारसहित सम्मान गर्ने निर्णय भएको उनले बताए ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापामगरलाई नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस