उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई मुख्यमन्त्री कार्कीको निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई मुख्यमन्त्री कार्कीको निर्देशन


६ चैत्र २०७९, सोमबार


ओखलढुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा पुग्ने गरी बनाउन निर्देशन दिएका हुन् ।

दुर्गमको विकास पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले आधारभूत आवश्यकता पूरा नभएकै कारण नागरिक बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था सुधार हुने गरी योजना तर्जुमा गर्न निर्देशन दिए । उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।

‘प्रदेशको समृद्धिका लागि दुर्गमको विकास पहिलो प्राथमिकतामा राखिनेछ । यहाँ जिल्लामा योजना तर्जुमा गर्दा बढीभन्दा बढी नागरिकले लाभ लिने गरी उत्पादनसँग जोडिएका योजना बनाएर प्रदेशमा पठाउनुहोला’, उनले भने, ‘कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्नुपर्नेछ । पूर्वाधार निर्माणका कामलाई पनि उत्पादनसँग जोडौँ ।’ देश विकासका लागि आर्थिक विकासको लक्ष्य हासिल गर्ने गरी कर्मचारी संयन्त्रले काम गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

देशमा राजनीतिक स्थायित्व नभएकाले सरकारहरू अस्थिर भए पनि कर्मचारी संयन्त्रले जिम्मेवार पूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । जिल्ला जिल्लामा पुगेर आफैँले आवश्यकता पहिचान गरेकाले आगामी वर्ष प्रदेशको बजेट नागरिकको मागमा केन्द्रित ल्याउने उनले बताए ।

मुख्यमन्त्री कार्कीले प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलाई अख्तियार दुरुपयोगको सवालमा निष्पक्ष भएर काम गर्न र विकास निर्माणका आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिए ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले कार्यालयहरूको प्रगति र प्राथमिकताबारे मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए । बजेट अभावका कारण योजनाहरू अघि बढाउन समस्या भएको कर्मचारीहरूले जानकारी गराएपछि मुख्यमन्त्री कार्कीले थालिएका योजना बजेट अभावका कारण अधुरो छाड्न नमिल्ने बताए । प्रदेश सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न बजेट व्यवस्था गर्ने उनको भनाइ थियो ।

ओखलढुङ्गामा तीन दिन बसेर आठ वटा योजनाको शिलान्यास, हस्तान्तरण र उद्घाटन गरेर मुख्यमन्त्री कार्की विराटनगर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस