कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै


१६ फाल्गुन २०७९, मंगलबार


सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ ।

बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिए पनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो ।

कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्कमा छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन् ।

दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा तीन लाख ३९ हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ । जबकि कर्णालीमा वार्षिक तीन लाख ५८ हजार तीन सय १६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ ।

बाँझो जमिन उपयोग गर्न सरकारले फलफूल, तरकारी खेती लगायतमा जोड दिएको प्रवक्ता कठायतले बताए । उनले भने, ‘हामीले बाँझो जमिन सदुपयोग गर्न विभिन्न योजना बनाएर काम गरिरहेका छौँ । हिमाली जिल्लामा स्याउ, ओखर खेती र पहाडी जिल्लामा सुन्तला, किवी र विभिन्न जातका फलफूल खेतीका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौँ ।’

गरिबी न्यूनीकरण र खाद्यान्न अभाव कम गर्न बाँझो रहेको जग्गा सदुपयोग गर्दै आएको प्रदेश सरकारले जनाएको छ । खेतीयोग्य जमिन बाँझो राखेर खाद्यान्न उत्पादन बढाउन नसकिने भन्दै त्यसका लागि किसान आकर्षण कार्यक्रम सरकारले ल्याएको उनको भनाइ छ । तर बर्सेनि खेतीयोग्य जमिन समेत बाझिँदै गएका छन् भने खाद्यान्न अभाव पनि भइरहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस