रामवरण यादव र झलनाथ खनालको उपचार गर्न सरकारले दियो ४५ लाख « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रामवरण यादव र झलनाथ खनालको उपचार गर्न सरकारले दियो ४५ लाख


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । सरकारले २०७९ साउनदेखि माघ महिनासम्म पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको लागि ४५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

विभिन्न व्यक्तिको आर्थिक सहायताको लागि भन्दै साढे ५ करोड रुपैयाँ वितरण गरिएकोमा पूर्व राष्ट्रपति यादवको उपचारमा २५ लाख र पूर्व प्रधानमन्त्री खनालको उपचारमा २० लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सहायता विवरणमा उल्लेख छ।

यादवलाई गत कात्तिक ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ लाख दिइएको थियो। त्यति बेला सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए।

पूर्व प्रधानमन्त्री खनाललाई २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार २० लाख रुपैयाँ उपचार खर्च निकासा गरिएको थियो। 

त्यस्तै भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई दुई पटक गरी २७ लाख रुपैयाँ आर्थिक सहायता दिइएको थियो। 

प्रतिनिधिसभा निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई सरकारले गत माघमा प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

सरकारले सबैभन्दा बढी गत मंसिर महिनामा १ करोड ३० लाख ८४ हजार रुपैयाँ निकासा गरेको छ। मंसिरमा सङ्घ र प्रदेशको निर्वाचन भएको थियो।

निर्वाचन आचारसंहिताअनुसार आर्थिक सहायता वितरणमा रोक लगाए पनि एकै महिनामा १ करोड ३० लाखभन्दा बढी निकासा भएको विवरणमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस