हामीलाई बेवास्ता गरे कसैले पनि मुलुक चलाउन सक्दैन : माधव नेपाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

हामीलाई बेवास्ता गरे कसैले पनि मुलुक चलाउन सक्दैन : माधव नेपाल


१५ फाल्गुन २०७९, सोमबार


सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने बताएका छन् ।

सुर्खेत विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले अहिले आएर आफूहरूको महत्त्व बुझेको टिप्पणी गरे ।

नेपालले भने, ‘आज बिहान मात्रै प्रधानमन्त्रीजीसँग भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो तपाईँलाई पहिले नै सरकारमा सहभागी गराउन कति चाहेको थिएँ तर हुँदै भएन । हो पनि हामीलाई कसैले बेवास्ता गरेर यो मुलुक चलाउँछु भन्ने ठान्छ भने त्यो समयमै सचेत भएर चलोस् । हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन ।’

नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने दाबी समेत गरे । ‘आँट भएका, विचार भएका दलहरू एक ठाउँमा छौँ । यो गठबन्धन टिक्छ, चुनावसम्म नै जान्छ’, उनले भने, ‘आफू विचारमा दृढताका साथ उभिने हो । चुनौतीको सामना गर्ने हो । अझै भन्नु हुन्छ भने राजनीतिको कोर्स नै चेन्ज गरिदिने हो ।’

अध्यक्ष नेपालले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नै राष्ट्रपतिमा विजयी हुने बताए । उनले भने, ‘रामचन्द्र पौडेलजीलाई राष्ट्रपति उम्मेदवार खडा गरेका छौँ । उहाँ नै मुलुकको तेस्रो राष्ट्रपति बन्नुहुन्छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग वार्ता गरेपछि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएको स्थिति २०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल गरे पनि सफल नभएको नेपालले बताए ।

‘केपीजीले हामीसँग वार्ता गरेपछि हामीले ०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल थालेका थियौँ । तर त्यसो हुन सकेन,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस