आज ४१औँ मगर दिवस : नवलपरासी पूर्वका सबै पालिकामा सार्वजनिक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आज ४१औँ मगर दिवस : नवलपरासी पूर्वका सबै पालिकामा सार्वजनिक बिदा


१५ फाल्गुन २०७९, सोमबार


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठ वटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका आठ वटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्घको स्थापना दिवसका अवसरमा फागुन १५ गते सोमबार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चार वटा गाउँपालिका र चार वटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता रहेको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका हुन् ।

“सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ”, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत विभिन्न कार्यक्रमहरू हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दैछन् । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरूले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ ।

विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस