‘यातायातको मुद्दा सिङ्गो देशको मुद्दा हो, सम्बोधन गछौँ’  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

‘यातायातको मुद्दा सिङ्गो देशको मुद्दा हो, सम्बोधन गछौँ’ 


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायातको मुद्दा व्यक्ति विशेषको मात्र नभई सिङ्गो देशको मुद्दा भएको बताएका छन् । बुधबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीसँगको छलफलपछि मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । 

अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभई सिङ्गो देशको मुद्दा भएको बताए । उनले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि मन्त्रालयले कार्यदल बनाएको पनि स्मरण गरे ।

‘हामीले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि ‘यातायात व्यवस्था सुधार सुझाव कार्यदल बनाएका छौँ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अब यातायातको मुद्दा व्यवसायी वा व्यक्ति विशेषको मात्र रहेन । यो सिङ्गो देशको मुद्दा बनेको छ ।’ यातायात व्यवसायीका गुनासो सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कार्यदलका प्रतिवेदनका आधारमा व्यवसायीका जायज मागहरू सम्बोधन गरिने आश्वासन दिए ।

‘हामी यातायात व्यवसायीले राखेका मागहरू सम्बोधन गरेर ठोस कदम चाल्न चाहन्छौँ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कार्यदलले हामीलाई जुन प्रतिवेदन दिन्छ, त्यसको आधारमा तपाईँहरूका मुद्दा पनि समेटेर ठोस कदम चाल्छौँ । तपाईँहरूको जायज माग पनि सम्बोधन गर्छौँ ।’

ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई व्यवसायका समस्या र सुझावहरू समेटेर ४ पृष्ठको सुझाव पेस गरेका छन् । व्यवसायीहरूले मुख्य रूपमा सवारी कर र राजस्व, सडक दुर्घटना, बीमा, पार्किङलगायतले आफूहरूलाई समस्यामा पारेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस