राष्ट्रपति चुनावबारे निर्णय लिन राप्रपाले बोलायो बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति चुनावबारे निर्णय लिन राप्रपाले बोलायो बैठक


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ । सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा निर्क्योल नभइसकेको बताएका छन् । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले भने राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुने बताए । 

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको बताए । केन्द्रीय कार्यसम्पादन समितिको बैठक राष्ट्रपति मनोनयनको एक दिन अघि शुक्रबार दिउँसो साढे १२ बजे बस्ने तय भएको हो । राप्रपाले आफ्नो उम्मेदवार राष्ट्रपतिमा नउठाउने तर कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा सोही दिन छलफल हुने उनले बताए । 

राष्ट्रपतिको निर्वाचनमा एमालेले उठाएको उम्मेदवारलाई समर्थन गर्ने कि काँग्रेसले उठाएको उम्मेदवारलाई भन्ने निर्क्योल पनि कार्यसम्पादन समितिले नै लगाउने राप्रपाका नेताहरूले बताएका छन् । उनीहरूका अनुसार राष्ट्रपति उम्मेदवारीको मात्रै नभई राष्ट्रपति चयन भएपछिको राजनीतिक परिस्थितिको आकलन गरेर रणनीति तय गरिनेछ ।

राप्रपाका केही पदाधिकारी र सांसदहरूले नै राष्ट्रपति निर्वाचन बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् । राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङले राष्ट्रपति चुनावमा भाग लिने र नलिने भन्ने विवाद उठेमा आवश्यक परे मत विभाजनबाट निर्णय लिइने बताए ।

राप्रपाका एक नेताले भने केन्द्रीय सरकारमा सहभागी हुने, प्रदेश सभामा सभामुख र सरकारमा सहभागी हुने अनि राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने निर्णय गर्न नसकिने बताएका छन् ।

राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस