प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीबाट हटाइए, अन्य कर्मचारीलाई स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीबाट हटाइए, अन्य कर्मचारीलाई स्पष्टीकरण


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूलाई जिम्मेवारीबाट हटाएको छ । स्रोतका अनुसार कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई गाउँ कार्यपालिका बैठकले जिम्मेवारीबाट हटाएको हो ।

तत्कालका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स्वास्थ्य संयोजक चन्द्रसिंह कुँवरलाई दिइएको छ ।

स्रोतका अनुसार सोमबार बसेको कार्यपालिका बैठकले बडूसँगै लेखापाल गोपालसिंह विष्ट, प्राविधिक शाखाका इन्जिनियर रमेशसिंह धामी, सब-इन्जिनियर भुवन पन्त, प्राविधिक वीरेन्द्र विष्ट र प्रेम कोट्टारीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्राविधिक शाखाका पूरै टिम गाउँपालिकालाई जानकारीसमेत नगराई धनगढी गएको पाइएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

कार्यपालिका बैठकले रोजगार संयोजक रमेश भट्टलाई समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कर्मचारी भए पनि राजनीतिमा सक्रिय रहेको भन्दै कार्यपालिका बैठकले पहिलो पटकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यता निमित्त प्रमुख प्रशासकीय अधिकृत बडूले आफू गाउँपालिका अध्यक्षले काममा खटाएपछि योजनाको कामले धनगढी र महेन्द्रनगर गएको बताएका छन् । 

उनले भने, ‘म गाउँपालिका अध्यक्ष ज्यूले काममा खटाएपछि गएको हुँ, मसँग पत्र छ ।’

साथै उनले गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले सामाजिक सञ्जालमा अपशब्द लेखेको भन्दै आपत्ति जनाएका छन् । 

उनले भने, ‘अपाच्य शब्द फेसबुकमा राख्नुभएको छ, हामी कर्मचारी कहाँ जाने, कर्मचारीको मर्यादामै आँच आउने किसिमले लेख्नुभएको छ, हाम्रो संरक्षण कसले गर्ने ?’

 

Tags :
प्रतिक्रिया दिनुहोस