स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । आइसिसी विश्वकप लिग टूको त्रिदेशीय एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो ।

सिरिजमा नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो ।

शुक्रवारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो ।

विश्वकप लिग टूको विजेता बनिसकेको स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग टू को सुखद अन्त्य गर्न चाहन्छ ।

२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल हो । तीन खेल बाँकी रहँदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाउने छ ।

मङ्गलवार स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एक दिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । यस्तै विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौँ स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एक दिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ ।

शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।

स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस