७ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी भवन, स्थानीय मर्कामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

७ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी भवन, स्थानीय मर्कामा


९ फाल्गुन २०७९, मंगलबार


अछाम । अछामको तुर्माखाँद स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्य चौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

थाक्थुहाङ आइ एस नेत्रेश्वरी जेभीले ७ वर्ष अगाडि २ करोड २१ लाख १८ हजार लागतमा एक वर्षमै निर्माण सम्पन्न गर्ने बताएको थियो । स्वास्थ्य चौकी भवन नहुँदा संस्थाबाट दिने सबै सेवा प्रभावित बनेको तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बयकले बताए ।

‘यहाँको स्वास्थ्य चौकीमा एक दिनमा कम्तीमा १ सय ५० भन्दा धेरै बिरामी आउँछन् । ५ भन्दा बढी सेवा एउटा साँघुरो कोठाबाट दिनुपर्दा धेरै कठिन भएको छ,’ स्वास्थ्य शाखा प्रमुख बयकले भने, ‘एउटै कोठामा बर्थिङ सेन्टर पनि छ । यस्तो जीर्ण भवनको एकै कोठामा बर्थिङ सेन्टर चलाउन झन् कठिन भएको छ ।’

स्वास्थ्य संस्था सञ्चालन र बर्थिङ सेन्टर सञ्चालनको मापदण्ड विपरीत अहिले स्वास्थ्य चौकीबाट सेवा दिइरहेको बयकले बताए ।

‘तुर्माखाँदको केन्द्रमा त्यति ठुलो भवन निर्माण हुन थालेको धेरै समय भइसक्यो । अहिलेसम्म अलपत्र अवस्थामा छ । यतातिर मापदण्ड विपरीत स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ,’ उनले भने ।

उनका अनुसार पहिले स्वास्थ्य चौकीको काम सुरु भएको र बीचमा काम गर्न छोड्दा भवन निर्माण क्षेत्रमा घाँसपात उम्रिएको छ ।

कमलबजार नगरपालिका-९ मष्टाबण्डालीमा १० वर्षअगाडि निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन पनि अहिलेसम्म अलपत्र अवस्थामा छ । २०६९ असारमा काम सुरु गरी २०७० असोजमा काम सम्पन्न गर्ने सम्झौता गरेको आईएस कन्स्ट्रक्सन डोटीले सम्झौताको १० वर्ष पुग्दासम्म पहिलो तल्ला चिनाइको काम मात्र सम्पन्न गरेको छ ।

१ करोड ५ लाख ३८ हजार लागतमा बन्ने उक्त भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीयको भनाइ छ ।

मष्टाण्बण्डाली स्वास्थ्य चौकी निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीको प्रतिनिधि केही समय पहिला सम्पर्कमा आए पनि भवन निर्माणको काम नसकिएको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए ।

‘पहिलेको भन्दा अहिले केही काम भएको देखिन्छ । तर सम्पन्न भइसकेको छैन,’ उनले भने । तुर्माखाँद र मष्टाबण्डालीमा बन्न थालेको स्वास्थ्य चौकीका ठेकेदारहरू लामो समयदेखि सम्पर्कमा नआएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गानाले बताए ।

पटक पटक भवन निर्माणमा ढिलाइ भएको ताकेता गर्दा पनि ठेकेदारहरू नै सम्पर्कभन्दा बाहिर जाँदा भवन निर्माण नै अलपत्र बनेको उनले बताए ।

‘तुर्माखाँद र मष्टाबण्डाली स्वास्थ्य चौकी भवन बनाउने ठेकेदारको अत्तोपत्तो छैन । यी भवनहरू सहरी विकासबाट बन्न थालेका हुन् । स्वास्थ्य कार्यालयले हेर्नुपर्ने कुनै आधिकारिक खबर आएको छैन । तर जिल्लामा बन्न थालेका स्वास्थ्य संरचनामा हाम्रो पनि चासो हुन्छ । धेरै पटक सम्पर्क गर्दा पनि ठेकेदार सम्पर्कमा आएका छैनन्,’ स्वास्थ्य प्रमुख ढुङ्गानाले भने ।

उनका अनुसार यो विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भएको छ । धेरै पुराना भवनबाट सेवा दिन पनि गाह्रो छ । अहिले ठेकेदार खोज्ने काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस