विश्वकप क्रिकेट लिग-२ : नेपाल र स्कटल्याण्ड खेल्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकप क्रिकेट लिग-२ : नेपाल र स्कटल्याण्ड खेल्दै


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । यो खेल जितेमा नेपालले कीर्तिमानी बनाउने छ । नेपालले स्कटल्याण्डसँग यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । यसअघिको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो ।

त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ । शृङ्खला अन्तर्गत हिजोको खेलमा स्कटल्याण्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्याण्ड ३५ खेलमा ५० अङ्कसहित शीर्षस्थानमा छ ।

लिग–२ को च्याम्पियन बनेको स्कटल्याण्डले आज नेपालको खेलपछि नै ट्रफी पाउने छ । लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ । दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुनेछन् ।

लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अंक छ । अब नामिबियाका दुई खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अंक र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अंक छ । छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अंक छ ।

नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अंक मात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अंक हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अंक हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय शृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस