टर्कीएमा फेरि ६.४ रेक्टर स्केलको भूकम्प : तीन जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टर्कीएमा फेरि ६.४ रेक्टर स्केलको भूकम्प : तीन जनाको मृत्यु


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपतकालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गए राति ८ बजेर ४ मिनेट जाँदा भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्‍याएको छ ।

टर्कीए र सिरियामा गरी ६८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरू भग्नावशेषमा फसेका छन् । उनीहरूको खोजी तथा उद्धारको काम भइरहेको छ । नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ ।

यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । टर्कीए सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस