राष्ट्रपति निर्वाचनका लागि तोकिए मतदान अधिकृत « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रपति निर्वाचनका लागि तोकिए मतदान अधिकृत


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ।

आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको हो।

पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको आयोग स्रोतले जानकारी दिएको छ।

राष्ट्रपति निर्वाचनका लागि मतदान स्थल भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरलाई बनाइने भएको छ। त्यहाँ दुइटा मतदान केन्द्र रहनेछन्।

आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेश सभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन्।

राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ।

दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुङ्गो लगाइसकेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन्।

तर नेपाली काँग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ भने उम्मेदवार टुङ्ग्याएको छैन। नेकपा एमालेले पनि गत पुस १० को सहमतिअनुसार राष्ट्रपति सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा एमालेबाट उठाइने उम्मेदवार हुनुपर्ने अडान राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस