कर्णालीको रैथाने बाली संरक्षण प्रदेश सरकारको उच्च प्राथमिकतामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीको रैथाने बाली संरक्षण प्रदेश सरकारको उच्च प्राथमिकतामा


७ फाल्गुन २०७९, आइतबार


कर्णाली । कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ ।

सरकारले शनिबार यस वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विसं २०७४ फागुन ६ गते कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने निर्णय गरेबमोजिम त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

कृषि मन्त्रालयले प्राङ्गारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथानीबाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौँ, उवाँ, लट्टेलगायतको संरक्षण, प्रवर्द्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ । यसअनुरूप विसं २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस मनाउन सुरु गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले जानकारी दिए ।

‘कर्णाली आयातित वस्तुमा निर्भर छ भन्ने कुरा भ्रम हो’, उनले भने, ‘यो प्रदेश जहाँ गोठे मल प्रयोग गरी रैथानीबाली उत्पादन गरिन्छ । विषादी र मल प्रयोग छैन । त्यो हरित क्षेत्र हो । कम मात्रमा मल खाद तथा विषादी प्रयोग भएको पहेँलो क्षेत्र हो । जहाँ पूर्णतः विषादी र रासायनिक मल गरिएको छ त्यो खतरा अर्थात् रातो क्षेत्र हो ।’

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले पछिल्लो समयमा कोदो कहाँ फल्छ भनेर थाहा पाउन हाम्रा बालबालिकालाई गाह्रो अवस्था आएको बताए । रैथाने बालीमा भिटामिन, प्रोटिन, क्यालोरी कति पाइन्छ भन्ने थाहा पाउन र यसको महत्त्व र वास्तविकता बुझाउन पाठ्यक्रम तयार हुनुपर्ने प्रमुख सुनारले सुझाव दिए ।

वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका अध्यक्ष दिनेश खत्रीले कर्णाली प्राङ्गारिक सम्भावना बोकेको एक मात्र प्रदेश भएको दाबी गरे । अध्यक्ष खत्रीले भने, ‘अहिले जुम्लाको अर्ग्यानिक उत्पादन किन्न जुम्ला जानुपर्दैन । सुर्खेतमै आउँछ । तसर्थ रैथानीबालीको महत्त्व, उत्पादन र संरक्षणबारे बुझाउन जरुरी छ ।’

उक्त मन्त्रालयका सचिव डा लेखराज दाहालले शैक्षिक क्षेत्रको अनुपम उदाहरण मानिने सुर्खेतको कोपिला भ्याली स्कुलले रैथाने बालीबाट उत्पादित वस्तु खुवाउने लक्ष्य राखेको भन्दै उक्त कामको मुक्तकण्ठले प्रशंसा गरे । यहाँका शिक्षण संस्थामा प्राङ्गारिक उत्पादनसम्बन्धी जोडिएको विषयवस्तु पढाइ हुनुपर्ने उनको भनाइ थियो ।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले प्रदेश सरकारले राखेको लक्ष्य, उद्देश्य र त्यसका लागि थालेको अभियान तथा सञ्चालन गरिएका गतिविधिले सकारात्मक सन्देश गएको बताए । यद्यपि आयातित वस्तुको उत्पादन रोक्न रैथानीबालीको उत्पादकत्वमा वृद्धि ल्याउनुपर्ने उनको भनाइ थियो ।

उक्त दिवसमा कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथाने बालीको परिचय, त्यसको इतिहास, महत्त्व, उत्पादनको अवस्था, घट्नुका कारण, संरक्षण गर्ने उपाय, देखिएका चुनौती तथा समस्या र प्रदेश सरकारले थालेका कदमका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरे । उनले कर्णालीमा हेला गरिएको बालीको नै अहिले नेपाली तथा विश्व बजारमा यसको मूल्य र महत्त्व बढ्दै गएको रहस्योद्घाटन गरे ।

प्रवक्ता कठायतले भने, ‘मानिसहरूले महत्त्व बुझ्दै गएपछि अहिले विद्यालयको खाजा कार्यक्रममा पनि यहाँको रैथाने बालीबाट बनेका परिकार खुवाउन थालिएको छ ।’ बजारमा पाइने सेतो चामलभन्दा कोदो कैयन गुणामाथि भएको बताउँदै उनले खाद्य विविधीकरण, बजारीकरण र उत्पादकत्वमा वृद्धि गरी त्यसको संरक्षण र प्रवर्द्धनका लागि प्रचार–प्रसार तथा निर्यातमा जोड दिइएको उनले बताए ।

दिवसमा कोपिला भ्यालीले रैथाने बाली कोदो, फापर, चिनो, कागुनो, जौँ, उवा र मार्सी चामलबाट बनेका परिकार अतिथिहरूलाई खुवाएको थियो । उक्त दिवसमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले स्याउको चाना, ओखर, सिमी, दाल, मार्सी चामल, ऊनको टोपी, मफलरलगायतका रैथाने उत्पादनको स्टल प्रदर्शनीमा राखी स्थानीय उत्पादन बिक्री–वितरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस