अन्डर-१९ क्रिकेट : अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जित्यो उपाधि « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अन्डर-१९ क्रिकेट : अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जित्यो उपाधि


६ फाल्गुन २०७९, शनिबार


धनगढी । धनगढीमा सम्पन्न सातौँ संस्करणको अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता (एलपीएल)को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ ।

फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित गर्‍यो । सत्यवती एकेडेमीले दिएको ९२ रनको लक्ष्य लोटस आईले ३ विकेट गुमाएर ११.३ ओभरमै भेटायो ।

लोटस आईको ब्याटिङमा लक्की कडायतले सर्वाधिक ४१ रन बनाए । उनले ३२ बलमा ७ चौका प्रहार गरे । आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए । सत्यवतीका बलर गौतम केसी र प्रतीक श्रेष्ठले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इमरान र सोनुले ३५ रनको ओपनिङ साझेदारी गरेता पनि त्यसपछि सत्यवतीका ब्याटरहरु लामो समय क्रिजमा जम्न सकेनन् ।

लोटस आईको बलिङमा नरेन साउद र प्रेम शाहले ४/४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा मात्र ६ रन तथा शाहले ४ ओभरमा ८ रन खर्चिए । हिक्मत महरा र सुवास रावलले १/१ विकेट लिए।

उपाधि सहित लोटस आई स्कुलले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा विजेता ट्रफी प्राप्त गर्‍यो । उपविजेताले १ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्‍यो ।

उपाधि जितेपछि प्रतिक्रिया दिने क्रममा लोटस आईका कप्तान वीरेन्द्र नाथले टिमको सकारात्मकता र तालमेल प्रमुख कारण रहेको बताए । ‘हाम्रो टिम सधैँ सकारात्मक भएर खेल्यौँ र टिमको तालमेल निकै राम्रो थियो। फाइनलमा हामीले विपक्षीलाई एक सय भन्दा कममा समेट्ने लक्ष्य लिएका थियौँ जुन बलरहरू पुरा गरेर देखाए। त्यसले दोस्रो इनिङ्समा लक्ष्य पछ्याउन सहज भयो,’ उनले भने ।

उपविजेता बनेपछि सत्यवती एकेडेमीका कप्तान सुजन गौतमले फैनलमा ब्याटिङ धरासायी हुनुलाई दोष दिए । उनले भने, ‘दुर्भाग्यवश ब्याटिङ धरासायी बन्यो र ब्याटरहरुले जिम्मेवारी देखाउन सकेनन्। आक्रामक सट खेल्न खोज्दा लगातार विकेट गुम्न पुग्यो। कम योगफललाई रक्षा गर्न बलरहरूलाई सहज थिएन।’

प्रतियोगिताको प्लेयर अफ द सिरिज लोटस आई स्कुलका आयुब चन्द चुनिए । उनले ५ खेलमा २ प्लेयर अफ द म्याच सहित १७९ रन र ५ विकेट लिएका थिए । आयुबले २० हजार नगद पुरस्कार सहित ट्रफी प्राप्त गरे । वेस्ट ब्याट्सम्यान लोटसकै योगेस भाट क्षेत्री र वेस्ट बलर पनि लोटसकै सन्तोष विजले चुनिए । उनीहरूले जनही १०/१० हजार प्राप्त गरे ।

उदीयमान खेलाडी लिटल फ्लावरका सुबोध तिवारी चुनिदा उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेता खेलाडीहरूलाई पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले पुरस्कार वितरण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस