किसानको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किसानको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने


१ फाल्गुन २०७९, सोमबार


सर्लाही । चन्द्रनगर गाउँपालिकाले गाउँपालिकाका किसानहरूको सिँचाइको विद्युत् महसुल तिरिदिने भएको छ । 

कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्‍याउने निर्णयसँगै मिटरमा उठेको विद्युत् मिटर महसुल गाउँपालिकाको कार्यालयले एकमुष्ट रूपमा नेपाल विद्युत् प्राधिकरण मलगंवा वितरण केन्द्रमा तिरिदिने गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताएका छन् । 

सहज सिँचाइको सुविधाले कृषि उत्पादनमा वृद्धि भई आम्दानी बढ्ने र जीवनस्तरमा सुधार आउने भएकोले पनि यो सुविधा सुरु गरेको अध्यक्ष महतोको भनाई छ । कृषि मिटर जडान गर्दा लाग्ने सबै राजस्व गाउँपालिकाले नै तिरिदिनेसमेत उनले बताए । 

फागुन १ गतेदेखि खेतहरूमा कृषि मिटर जडान अभियान सञ्चालन भएको छ। नेपाल विद्युत् प्राधिकरण मलगंवा वितरण केन्द्रको सहकार्यमा चन्द्रनगर गाउँपालिकाले गाउँपालिकामा नै विद्युत् मिटर फारम भर्ने र बुझाउने व्यवस्था मिलाएको छ। 

विद्युत् प्राधिकरणले कृषि सिँचाइका लागि विद्युत् महसुल प्रति युनिट औसत २.२५ रुपैयाँ तोकेको छ भने रातिका लागि प्रति युनिट २ रुपैयाँ पर्न आउने छ । 

चालु आर्थिक वर्ष २०७९/८० मा कृषि विद्युतीकरणका लागि गाउँपालिकाले एक करोड ४० लाख बजेट विनियोजन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस