परराष्ट्र मन्त्री पौड्याल र भारतीय विदेश सचिवबीच भेटवार्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

परराष्ट्र मन्त्री पौड्याल र भारतीय विदेश सचिवबीच भेटवार्ता


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो।

भेटमा द्वीपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री पौड्यालले जानकारी दिइन्।

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा समेत भेटमा छलफल भएको मन्त्री पौड्यालले जानकारी दिइन्।

नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्वीपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेकी थिइन्।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका हुन्।

यसअघि काठमाडौँमा भारतीय राजदूत रहेका क्वात्राले विदेश सचिवको कार्यभार सम्हालेपछिको पहिलो पटक नेपाल भ्रमण गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस