स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने ऐन बनाऔँ : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने ऐन बनाऔँ : गगन थापा


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले कुनै पनि तहका सरकारले आफू खुसी बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका छन्। सार्वजनिक बिदाका नाममा अराजकता बढ्दै गएको उनले बताएका छन् ।

उनले भने, ‘पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि । झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो१’

सरकारले ‘जनयुद्ध दिवस’का दिन बिदा दिने निर्णय गरेपछि विरोध भइरहेको छ। काँग्रेस महामन्त्री थापाले पनि यसमा असन्तुष्टि जनाएका छन्।

बिदा सम्बन्धी कानुन बनाएर नियन्त्रण नगरे झनझन स्वेच्छाचारिता बढ्ने उनको भनाइ छ। थापाले भनेका छन्, ‘कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ।’

उनले बिदा सम्बन्धी नियम बनाउनुपर्ने बताएका छन्। थापाले भनेका छन्, ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिऊँ।’

Tags :
प्रतिक्रिया दिनुहोस