गिटी-बालुवा निकासी करको विवादमा झडप हुँदा ४ जना घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गिटी-बालुवा निकासी करको विवादमा झडप हुँदा ४ जना घाइते


२८ माघ २०७९, शनिबार


रौतहट । रौतहटको वृन्दावन नगरपालिकास्थित वाग्मती नदीको रमौली र विश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर शनिबार दुई पक्षबीच झडप भएको छ ।

झडपमा दुई पक्षका चार जना समान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरिदिएका छन् । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।

‘झडपमा केही घाइते भएको भन्ने सुन्नमा आएको छ । त्यसतर्फ सुरक्षाकर्मी परिचालन भइसकेको छ । अहिले अवस्था सामान्यजस्तै छ,’ उनले भने । घटनापछि नगरप्रमुख पटेलका समर्थकहरू गौर–चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् ।

वाग्मती नदीको दुवै घाटबाट अमानतमा गिटी, बालुवा निकासी हुँदै आएपछि स्थानीयले विरोध जनाएको थियो । यहीबिच शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेता बसेर तत्काल अमानतमा निकासीको रसिद काट्न नदिन नगरप्रमुख विनोद पटेललाई अनुरोध गरेका थिए । नगरप्रमुख पटेलले तत्काल अमानतमा कर नउठाउने आश्वासन दिए पनि उनका आफन्तहरू मिलेर शनिबार घाटमा रसिद काट्न थाले पछि झडप भएको हो । ठुलो संख्यामा स्थानीय नदिमै पुगेर रोक्न खोजे पछि झडप भएको एमाले नेता प्रेमशंकर यादवले बताए ।

उनले भने, ‘हामीले अमानतमा कर उठाउँदा अनियमितता भएको भन्दै नगरप्रमुख पटेललाई तत्काल रोक्न भनेका थियौँ । उहाँले हुन्छ भनेर आश्वासन दिनुभयो । बोली र व्यवहारमा फरक देखाउँदै आफ्ना मान्छे लगाएर अमानतमै कर उठाउन थालेपछि स्थानीयले प्रतिकार गरेका हुन् । अमानतमा उठाइएको रकम समेत दाखिला भएको छ छैन भन्ने कसैलाई थाहा छैन ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलकै मिलेमतोमा अमानतमा निकासीको कर काट्ने काम भइरहेको भन्दै उनलाई कारबाहीको माग अघि सारेका छन् ।

बृन्दवन नगरपालिकाले तीन महिनाअघि दुवै नदीबाट गिटिजन्य वस्तु निकासीका लागि ३ करोडमाथि मूल्य राखेर ठेक्का आह्वान गरेको थियो ।तर, मूल्य बढी भएको भन्दै कसैले पनि सकार गरेनन् । त्यसपछि नगरप्रमुख पटेलले आफ्ना मानिस लगाएर अमानतमा कर उठाउन खटाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस