सर्लाहीमा सीमा अनुगमन तीव्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीमा सीमा अनुगमन तीव्र


२८ माघ २०७९, शनिबार


सर्लाही । सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल-भारत सीमा नाकामा अनुगमन थालिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बलका उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेललगायत रहेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार पूर्वी नाका पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि खुटौनासम्म सीमा क्षेत्रको अनुगमन गरिएको हो । खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बारा उद्योरण, बलरालगायत नाकाको अनुगमन गर्न बाँकी छ । ‘नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिल्लरको अवस्था बुझ्न तथा सीमामा भएका अतिक्रमण हटाउन अनुगमन गर्न थालेका हौँ’, उनले भने ।

दशगजा क्षेत्रमा कुनै प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लासित जोडिएको ५१ किलोमिटर खुला सिमानामा ठाउँ ठाउँमा बस्ती बस्नुका साथै पसल राखेर व्यापार व्यवसाय गर्ने गरिएको पाइएको छ ।

विद्युतीय चार्जीङ स्टेसन
सर्लाहीको हरिवन नगरपालिका–११ मा विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गर्न थालिएका हुन् ।

एक पटकमा चार सवारी साधन चार्ज गर्न सकिने गरी दुई विद्युतीय चार्जीङ स्टेसन स्थापना गरिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालवन्दीका प्रमुख सन्जीवकुमार साहले जानकारी दिए । चार्जीङ स्टेसन स्थापना गर्न रू एक करोड ५० लाख खर्च भएको छ । एउटा सवारी साधन चार्ज हुन करिब तीन घण्टा लाग्छ ।

‘चार्जीङ स्टेसन स्थापनापछि विद्युतीय सवारी साधन पूर्णरुपमा सञ्चालन भएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनबाट जोगाउन सहज हुन्छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस