पृथ्वी शाहविरुद्ध कीर्ते कसुरमा पनि अनुसन्धान, ९२ लाखको जग्गा राखेर २ करोड ऋण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पृथ्वी शाहविरुद्ध कीर्ते कसुरमा पनि अनुसन्धान, ९२ लाखको जग्गा राखेर २ करोड ऋण


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । पृथ्वीबहादुर शाहविरुद्ध प्रहरीले सरकारी लिखत कीर्ते गरेको कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । अछाम घर भएका ३५ वर्षीय शाहलाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

विदेशबाट शङ्कास्पद रकम नेपाल भित्र्याएको आरोपमा ब्युरोले उनलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा शाहले सरकारी लिखत कीर्ते गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी उत्तम सुवेदीले बताए ।

लालपुर्जा किर्ते गरेर शाहले काठमाडौँ महानगरपालिका-७ स्थित चाबहिलको जग्गा धितो राखेर ऋण लिएको भेटिएको छ । करिब ९२ लाख मूल्य पर्ने जग्गाको लालपुर्जा सच्याएर शाहले २ करोड ऋण लिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

भाइ विजयविक्रमलाई पनि प्रहरीले पक्राउ गरेको छ । मुलुकी अपराध संहित–२०७४ अनुसार सरकारी लिखत किर्ते मुद्दामा ५ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । शाहविरुद्ध सीआईबीले लिखत सम्बन्धी कसुर, ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

शाहको स्वामित्वमा रहेका विभिन्न कम्पनी र उनको व्यक्तिगत बैङ्क खातामा विदेशबाट ६५ करोड रुपैयाँ आएको भेटिएको छ । अनलाइन मार्फत अमेरिकनको कम्यूटरमा पहुँच बनाएर रकम ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (एआईजी) सुवेदीले बताए ।

अनलाइन माध्यमबाट शाहले अमेरिकनको बैङ्क खातामा रकम जम्मा भएको देखाउँदै सो रकम ‘भुलवश’ जम्मा हुन गएको भन्दै फिर्ता पठाइदिन आग्रह गर्ने गरेको अमेरिकन नागरिकहरूले ब्युरोलाई बताएका छन् । खातामा रकम आएको देखेपछि अमेरिकनले शाहले भने अनुसार नेपालस्थित कम्पनीका बैङ्क खातामा डिपोजिट गरिदिएको थाहा भएको छ ।

यस्तै शाहले ठगी गरेर अहिलेसम्म ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल ६५ करोड नेपालमा भित्र्याएका छन् ।

ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानबाट शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार अहिलेसम्म ९ जना अमेरिकनले शाहबाट ठगिएको जाहेरी पठाएका छन् । पीडित अमेरिकन नागरिकले इमेल गरेर सिआईबीमा जाहेरी पठाएका हुन् ।

पृथ्वी सहित उनको भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले र रङ्गबहादुर साउद प्रहरीको हिरासतमा छन् । शाहले सिद्धार्थ सहित दुई वटा बैङ्कबाट रकम निकाल्न लागी फर्जी कागजात पेस गरेको अनुसन्धानबाट थाहा भएको छ । अमेरिकाबाट ठगीको रकम सिद्धार्थ बैङ्क, ग्लोबल, सेन्चुरी कमर्सियल, सनराइज, कुमारी, एनसिसि र एनएमबी सहित ११ बैङ्क वटा बैङ्क खातामा आएको छ ।

सो रकम शाहको स्वामित्वमा रहेका कम्पनीहरू हन्टिङ रिजर्भ, १४ पिक, कैलाश एक्जिम, वर्ल्ड फस्ट जब प्लेसमेन्ट, माउन्टेन अपार्टमेन्ट र वर्ल्ड फस्ट होलिडे लगायतका खातामा जम्मा भएको छ । कतिपय कम्पनी कम्पनी रजिस्टारको कार्यालयमा दर्ता नै नभएको र दर्ता भएकाहरू पनि उद्देश्य अनुसार सञ्चालनमा नरहेको अनुसन्धानबाट थाहा भएको छ ।

पृथ्वी बहादुर यसअघि २०७२ मा पनि पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस