आत्महत्या दुरुत्साहनको आरोपमा कर्मचारी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आत्महत्या दुरुत्साहनको आरोपमा कर्मचारी पक्राउ


२६ माघ २०७९, बिहिबार


पक्राउ

बिर्तामोड । आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दास रहेका छन् ।

दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । प्रहरीले बुधबार उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । उनी उक्त विद्यालयका अनुशासन विभाग प्रमुख समेत हुन् ।

मङ्गलवार अनुशासन उल्लङ्घन गरेको भन्दै उनले सोनीलाई कुटपिट गरेको खुलेको छ । सोनी सोही साँझ घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

शिक्षकको कुटपिटकै कारण मानसिक तनावमा रहेकी उनले आत्महत्याको बाटो रोजेको परिवारको आरोप छ । सोनीका आफन्त र विद्यार्थीले बुधबार शिक्षक दासको घरमा तोडफोड गरेका थिए ।

आत्महत्या दुरुत्साहन गर्ने शिक्षक दासलाई कारबाहीको माग गर्दै सोनीको परिवारले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएको थियो ।

जाहेरीका आधारमा शिक्षक दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस