पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर


२६ माघ २०७९, बिहिबार


झापा । बिर्तामोडको मुक्ति चोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण भएको छ ।

शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड-२ मा आठ बिघा निजी जग्गामा निर्माण गरेको श्रीजय ड्रिमल्याण्ड पार्कमा रु एक करोड लगानीमा भ्यूटावर बनाएका हुन् ।  झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउछन् । 

चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गरेको शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय पार्क निर्माणमा जुटेका छन् ।  पार्कमा लिची, आँप, अम्बालगायतका विभिन्न प्रजातिका फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् ।

ढुङ्गानाले विगत छ वर्षेदेखि पार्क निर्माण सुरु गरेका हुन् । ‘मलाई पार्कमा पर्यटकको घुइँचो लगाएर पैसा कमाउला भन्ने छैन’, उनले भने, ‘समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले ग्रीन पार्कको परिकल्पना गरेको हुँ ।’

उनले पार्कभित्र निर्माण गरेको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ । जहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी भइरहेको उनले बताए । 

पार्कको औपचारिक उद्घाटन हुन बाँकी छ । तर आन्तरिक पर्यटक भने घुम्न आउन थालिसकेको उनले बताए ।  पार्कमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने स्थानको समेत व्यवस्था गरिएको छ । ‘आफूसँग भएको नगद र बैंकबाट ऋणस्वरुप लिएको करिब रु तीन करोड खर्च भइसक्यो’, उनले भने, ‘अझै कति खर्च हुन्छ, लेखाजोखा छैन ।’

सञ्चालक ढुङ्गानाले पार्कमा स्विमिङ पुल, रिसोर्ट, फुटसलसमेत बनाउने तयारी रहेको जानकारी दिए । पार्कमा प्रत्येक वर्ष ‘लिची फेस्टिबल’ गरिँदै आएको छ । लिचीको बोटमा आफूखुसी टिपेर ताजा फल खान फेस्टिबलमा टाढादेखि पर्यटक आउने गर्छन् ।

फेस्टिबलमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले रु १०० तिरेर आफैँ बोटमा टिपेर पेटभरि लिची खान पाइने व्यवस्था गरिएको हुन्छ । अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि सुरु गरेको उनले बताए । उनका अनुसार बगानमा यतिबेला बम्बई, मुजफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस