सत्तारुढ गठबन्धन टिकाउन जरुरी छ : प्रदीप ज्ञवाली « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सत्तारुढ गठबन्धन टिकाउन जरुरी छ : प्रदीप ज्ञवाली


२३ माघ २०७९, सोमबार


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाइराख्न जरुरी रहेको बताएका छन् । 

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क छ । 

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने पनि बताए । उनले काँग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्त्वपूर्ण अङ्गहरूमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकिर गरे । 

“लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो । सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ । नियन्त्रण र सन्तुलन खल्बलिन्छ । तर, सत्ताबाट हट्नुपरेको डेढ महिनामै त्यो ढङ्गको छटपटी जुन देखिएको छ,” उनले भने, “त्यो कतै पनि राम्रो कुरा हो भन्ने मलाई लाग्दैन । त्यसो भएर अहिले सत्ता गठबन्धनलाई टिकाइराख्ने, त्यही हिसाबले राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने र अहिले देखा परेका राजनीतिक अस्थिरता र अन्योलहरू हटाएर अगाडि बढ्न जरुरी छ ।”

उपमहासचिव ज्ञवालीले काँग्रेसमा सत्ताबाट हट्नुपरेको छटपटी सुरु भएको आरोपसमेत लगाए । उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस