आइएफआरसीका महासचिव चापागाईं नेपालमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आइएफआरसीका महासचिव चापागाईं नेपालमा


२१ माघ २०७९, शनिबार


काठमाडौँ । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं चार दिने भ्रमणका लागि यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गरे ।

सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेशल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रूपमा महासचिव पदमा चयन गरेको थियो । सन् २०२० फेब्रुअरी १ देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गरेका थिए । आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुन् ।

महासचिव चापागाइँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापी सहयोग निरन्तर जारी रहेको बताए । ‘विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटापन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ’, उनले भने । आइएफआरसी मानवीय सेवाका क्षेत्रमा कार्यरत सर्वोच्च परोपकारी संस्था हो ।

भ्रमणका क्रममा महासचिव चापागाईंले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिने यहाँस्थित आइएफआरसीले जनाएको छ । उनी आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुने छन् ।

साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रमलाई उनले सम्बोधन गर्ने छन् । भ्रमणका क्रममा चापागाईंले राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफलसमेत गर्ने बताइएको छ । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पुर्‍याउने गर्दछ ।

कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दिका बाबाजुद पनि महासचिव चापागाईँले सङ्कटापन्न समुदायलाई मानवीय सहायता पुर्‍याउन निर्वाह गरेको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ । विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनुका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस