सामाजिक सुरक्षामा समेटिए झण्डै ४ लाख श्रमिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामाजिक सुरक्षामा समेटिए झण्डै ४ लाख श्रमिक


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् ।

हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार १५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । १७ हजार ६४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् ।

कोषमा सबैभन्दा बढी वाग्मती प्रदेशबाट दुई लाख ९९ हजार ८३५, प्रदेश नं १ बाट ३८ हजार ८४९, मधेसबाट २१ हजार ५६, गण्डकीबाट १४ हजार ८९३, लुम्बिनीबाट १३ हजार ९६७, सुदूरपश्चिमबाट एक हजार ५०३ र कर्णालीबाट एक हजार १८५ श्रमिक सूचीकृत भएका छन् ।

कोषले हालसम्म २९ अर्ब १२ करोड योगदान रकम सङ्कलन गरेको छ । सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो ।

योगदान रकम सङ्कलन गरेको तीन महिनापछि कोषले योगदानकर्तालाई विभिन्न सुरक्षा योजनाअन्तर्गत सुविधा दिन थालेको थियो । कोषले योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ ।

कोषले हालसम्म रु तीन खर्ब ३१ करोड दाबी भुक्तानी गरेको छ । कोषमा आबद्ध भएकामध्ये ६० हजार ६१६ जनाले लाभ लिएका छन् ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ३७ करोड ३१ लाख ८६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत रु ४४ करोड २१ लाख १५ हजार, आश्रित परिवार सुरक्षा योजनाबापत रु ५८ करोड ५३ लाख ५८ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत रु दुई अर्ब ७९ करोड ४४ लाख ७५ हजार भुक्तानी गरेको छ ।

कोषले १० घातक रोगको उपचार गर्न योगदानकर्तालाई सेवा अवधिभर रु १० लाखसम्मको उपचार खर्च उपलब्ध गराउन थालेको छ ।

घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने व्यक्तिले यस्तो सुविधा पाउनेछन् ।

कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्क घात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगका लागि सेवा अवधिभरमा रु १० लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

यो सुविधा कोषमा योगदान गर्न छाडेको दुई वर्षसम्म र योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म उपयोग गर्न सकिने कोषले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस