पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँ ल्याइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँ ल्याइँदै


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । उनलाई आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौँ ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

स्थलमार्गबाट ल्याउँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले हवाईमार्गमार्फत काठमाडौँ ल्याउन लागिएको प्रहरीको भनाइ छ । उनलाई बिहीबारै पक्राउ गरिएको हो ।

काठमाडौँ ल्याएपछि उनलाई फैसला कार्यान्वयनका लागि कैलालीमा पठाउने सम्बन्धमा निर्णय लिइने प्रहरी स्रोतले बताएको छ । 

गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका थिए । ०६६ सालमा ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले ०७० वैशाख ९ गते यस्तो फैसला गरेको थियो ।

कैलालीको गोरांगा खोलाबाट ढुङ्गा लिएर लम्कीतर्फ जाँदै गएको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो ।

मुद्दा खेपेका बेला जमानीमा रिहा भएका चौधरी फैसलाको बखत नै फरार रहेको फैसलामा उल्लेख छ ।

सम्बन्धित समाचार : नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस