सञ्जालको मायाजाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सञ्जालको मायाजाल


१९ माघ २०७९, बिहिबार


सामाजिक सञ्जालको सबैभन्दा सकारात्मक पक्ष नै प्रशंसाजनित उमङ्ग हो । त्यस्तो सहज र तम्तयार साधन , जसले  दैनिक जीवनका अवसाद र पीडाबाट केही समयका लागि भए तापनि  छुटकाराको अनुभव दिलाउँछ । मन बुझाउने त्यस्तो जरिया , जसले सांसारिक कलह र दुःखबाट किञ्चित भए पनि मुक्तिको आभास दिलाउँछ  । एउटा त्यस्तो गौरव , जहाँ ‘मलाई मन पराउने पनि कोही छ’ भन्ने महसुस हुन्छ । धेरैजसो प्रयोगकर्ताका लागि यो एक सुखदायी भ्रम हो । आफ्नो ‘राम्रो तस्बिर’  सञ्जालमा राख्दा मनमा आनन्द महसुस हुन्छ । त्यो तस्बिर अरु कसैले एकवार हेर्ला , किन्तु आफैले चाहिँ बारम्बार हेरिन्छ । आजको मानव भान्सामा , शौचालयमा , पार्कमा र अफिसमा समेत ‘अनलाइन’ बस्छ ।  संसार साँघुरो भएको छ ।

आफूलाई ‘पर्फेक्ट’  देखाउने एक प्रयत्न । जीवनका स्वस्फूर्त नभई निर्मित क्षणहरू देखाउने झूटो संसार । एउटा त्यस्तो आत्म विज्ञापन , जहाँ थोरै समयअघिको कलह देखिँदैन । परिश्रमले खिचेको एउटा त्यस्तो तस्बिर , जहाँ  रसिलो आँखा पुछेर हँसिलो बनाइएको छ । आजको हिन्दुस्तानका मानिसहरू औसतमा दैनिक सात घण्टा सामाजिक सञ्जालमा बिताउँछन् रे । ‘म पनि मायाको लायक र प्रशंसाको योग्य छु’ भन्ने एक प्रच्छन्न प्रवञ्चना हो सामाजिक सञ्जालप्रतिको अगाध प्रेम ।  एउटा त्यस्तो उत्कट आकाङ्क्षा , जहाँ आफ्नो आत्मरतिलाई अरूको अनुमोदन प्राप्त होस् । 

सामाजिक सञ्जालमा छाउन कुनै दक्षता र प्रज्ञाको दरकार पर्दैन । सञ्जालमा लोकप्रिय हुन मौलिक कुरा लेख्नु पनि पर्दैन । नक्कल गरेरै वाहवाही पाउन सकिन्छ र डिजिटल संसारको क्षणिक खुसी हातलागी भइहाल्छ । चाहिएको डिजिटल प्रशंसा हो , ‘झुटा ही सही’ । जीवनमा  चरम आनन्द प्राप्त भए जस्तो प्रसन्नता र मस्तीको क्षणिक दुनियाँ । आफ्नै शरीर , आफ्नै तस्बिर , आफ्नै तीर्थाटन र आफ्नै पर्यटन । आफू लोकप्रिय भएको पलपलको मिथ्याभास ।

 सञ्जालमा ‘ठुला’ मानिससँग बसेर खिचेको सेल्फी राखेर आत्मरतिमा रमाउनेहरूको संख्या ठुलो छ । यस्तो मिथ्याभिमान , जसलाई फोटो हेर्नेले नरुचाए तापनि ‘वाउ !’  भनेर पुष्टि गरिदिन्छ । सञ्जालको लाइक र सकारात्मक कमेन्ट एक लेनदेन पनि हो । आफूले दिए अर्कोले पनि पैँचो तिर्छ । सञ्जालमा कसैले गालीको माध्यमबाट , कसैले अश्लील टिप्पणीको माध्यमबाट र कसैले सुन्दर देहको प्रदर्शनबाट आफ्नो ‘ब्रान्ड’ बनाएका छन् । नकारात्मकता , अश्लीलता , गालीगलौज र उपहासमा रमाउनेहरूसमेत ‘सञ्जालको हिरो’  भएको देखिएको छ ।

 आनन्दको मिथ्यानुभूति दिने मुखौटो हो सामाजिक सञ्जाल । पारिवारिक जीवनमा शान्ति र सन्तुष्टि प्राप्त नभएको बखतमा सामाजिक सञ्जाल एक शीतल मलम हो । यसले वास्तविक जीवनको दुःखबाट थोरै समयलाई भए तापनि  मुक्ति दिन्छ रे । सञ्जालमा अविरल आइरहने सूचनाहरूले प्रयोगकर्तालाई चरप्प समातेर राखेका हुन्छन् ।  सुख पाउने लालसामा दुःख बेसाउने भयावह माध्यम हो यो । यो त्यस्तो अजिङ्गर हो , जसले घाँटीसम्म निलिसक्दा पनि होस आउँदैन । सदुपयोग गर्न नसक्नेका लागि यो कालकूट विष जस्तै हो । यसको उपयोग नै नगर्ने मान्छे जुम्सो र लद्दु मानिन्छ भने दुरुपयोग गर्ने मान्छे फटाहा र पद्दु हुन्छ । 

सामाजिक सञ्जालले धेरै सकारात्मक र रचनात्मक कुरा दिएको छ । परन्तु यसमा लत लागेका  र मन कमजोर हुनेहरू बडो दुःखी छन् । कसैको हाँस्दैको अवस्थामा खिचेर राखिएको फोटो देखेकै आधारमा अर्को सुखी र आफू दुःखी भएको महसुस गर्नेहरू पनि छन् । ईर्ष्या , जलन र द्वेष भावको सिकार हुने मात्र नभई आफूलाई कमजोर मान्ने र जीवनलाई मूल्यहीन सम्झिनेको संख्या पनि बाक्लो हुँदै गएको छ । आफ्नो शरीर , आँखा , कपाल , गाला , नाक र खाने मुखसमेत ऐनामा हेरेर आफू देखिन लायक नभएको महसुस गर्ने युवतीहरूका अन्तर व्यथा बेग्लै छन् । आफ्नो निरीक्षण गरेर आफैलाई अरूसँग तुलना गर्ने प्रवृत्ति खतरापूर्ण छ । यस मामिलामा सामाजिक सञ्जालले अपराध गरेको छ । यसले मनुष्यको सद्गुणभन्दा मिथ्याको रूप र सज्जालाई बढी महत्त्व दिने काम गरिरहेको छ । सौन्दर्य भनेको एउटा ‘पर्सेप्सन’  मात्र हो भन्ने सत्यलाई तिरस्कार गर्ने काम भएको छ ।         

सामाजिक सञ्जालमार्फत धेरैले धन आर्जन गरिरहेका छन् । कतिपय मनकारीहरूले विपत्तिमा परेकालाई सहयोग गर्ने माध्यम पनि बनाएका छन् ।  कोही ‘टिकटक सुन्दरी’  र ‘टिकटक हिरो’ पनि बनेका छन् । कोही फेसबुक र ट्विटर हिरोको रूपमा सूचना र मनोरञ्जनका स्रोत बनेका छन् । यो सञ्जाल अनेक फत्तुर गर्नमा पनि माहिर छ । आफूलाई समाजको आदर्श पात्र देखाएर पाखण्ड गर्नेहरूको ठुलो बिगबिगी छ यसमा ।  सामाजिक सञ्जालमा भएको भनावैरीका कारण वास्तविक जीवनमा बोलचाल बन्द भएका घटना पनि छन् । यसमा कथित गुरु र बाबाहरूको पनि भयानक दबदबा छ । हासिल नभएको योग्यता , ‘पोजिसन’ को धाक र आफूले गर्दै नगरेका कामहरूको बखान गर्ने धेरै छन् । चिन्नेहरू किन निहुँ खोज्नु भनेर चुप लागेर बस्छन् । सञ्जालको माध्यमबाट चिनेकाहरूले वाहवाही गरिरहेका हुन्छन् । सामाजिक सञ्जालमा आफूलाई आदर्श पात्रको रूपमा प्रदर्शन गर्नेहरूसँग कोही प्रमाण माग्न आउने त होइन । कसैले निहुँ खोज्न थाल्यो भने त्यसलाई साथीको सूचीबाट निकालिदिनु नै काफी छ । ‘न रहेगा बाँस न बजेगी बाँसुरी ।’

सयौँ तस्बिरमध्ये एउटा छानेर सञ्जालमा टाँगिदियो र प्रतिक्रियाका लागि कुरेर बस्यो । चिनेका सबैलाई अनुहार , आनीबानी र  उमेर थाहा छ । तथापि यस्तो कपोलकल्पित सुखानुभूति , जहाँ ‘हाउ ब्युटिफुल / ह्यान्डसम’  को कमेन्ट देखेर दिल ‘बागबाग’  हुन्छ । प्रशंसाको यस्तो दिलासा जो झूट हो भन्ने थाहा हुँदाहुँदै पनि प्रतीक्षा गर्न मन लाग्छ । यस्तो रोमाञ्चकारी जगत , जहाँ सयौँ अपरिचितहरू बनिबनाउ ‘दोस्त’ हुन्छन् । बालकदेखि वृद्धसम्मका लागि रोमहर्षण पैदा गर्ने साधन भएको छ सञ्जाल । कहिल्यै भेट नभएका र भेट हुने सम्भावनासमेत नरहेका व्यक्तिसँग हुने डिजिटल मित्रता अचम्मको हुँदो रहेछ । संयोगले भौतिक रूपमा भेट भयो भने त्यो रोमाञ्च क्षणभरमा तिरोहित हुनसक्छ । शब्द , स्वर एवं तस्बिरको मान्छे र जिउँदो जाग्दो भौतिक मान्छेमा ठुलो फरक छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कतै लेखेका छन् , ‘कुनै कविको कविता मधुर लाग्छ, स्वयं कवि कर्कश भेटिन्छ ।’

सारा परिवार बैठक कोठामा सँगै बसिरहेको छ । हुर्केकाहरू मोबाइल समातेर बसेका छन् । सानो बच्चा रहेछ भने उसको हातमा पनि आफू सुहाउँदो डिभाइस छ । समग्र परिवार सँगै छ , तर सबै एक्ला एक्लै । पारिवारिक वार्तालाप छैन । आपसी प्रेम , अनुराग र लगावको कुरा हुँदैन । आपसमा श्वासप्रश्वासको न्यानोपन छैन । स्पर्शको ताप र ऊष्मा छैन । आत्मीय भावको कुनै स्पन्दन छैन । आबाल वृद्धवनिता सबैलाई एउटा छद्म सुखको डोरीले बाँधेर काल्पनिक स्वर्गमा पछारेको भान हुन्छ । ‘छाडेर काम सारा एक काम रोजिरेछु’ भनेजस्तो भएको छ जीवन ।  देश देशावरका अञ्जान मान्छेका ‘अहो तिमी त मोडेल जस्तो ! चिया खायौ ? आहा क्या मोज छ यार ! क्याबात ! सो नाइस ! ब्युटिफुल , हाउ प्रेटी , अद्वितीय’ आदि जस्ता कमेन्ट पढेर मक्ख सबै ।

कुनै सञ्जाल प्रयोगकर्ता त यस्ता पनि कि फोटोमा थोरै लाइक आयो भने फेरि खिच्यो , फेरि राख्यो । ऐना हेर्‍यो , फेरि ‘मेकअप’  गर्‍यो । उस्तै परे स्वास्थ्यका खातिर होइन , सञ्जालमा छरितो ‘फिगर’ देखाउनका लागि डाइटिङ गर्न पनि तयार । एउटा आत्मवञ्चना , एउटा आफैले रचेको चक्रव्यूह , एउटा आफैले खडा गरेको अजबको प्रपञ्च । फेसबुक र ट्विटरमा काल्पनिक युवतीको नाममा नक्कली आइडी खडा गरेर अनेकौँ अश्लील कुरा लेख्ने र त्यस्तै अश्लील जवाफ पाउँदा  क्षणिक मजा लिनमा निमग्न हुनेहरूले समय बरबाद गरेको देख्दा अचम्म लाग्छ ।

एक जना वयस्क  फेसबुके मित्र भन्दै थिए , ‘मैले मलाई डेन्टिङ पेन्टिङ गरेर अर्कै बनाएँ । अनि बडो जतनले पचास वटा सेल्फी लिएँ । पचासमध्ये उनन्चास डिलिट गरिदिएँ र बाँकी रहेको एउटा फेसबुकमा राखिदिएँ । सारा फेसबुकेमित्रहरू , कुटुम्ब र छिमेकीले ‘वाउ वाउ’ गरेर हौसला बढाए । म खुसी भएँ । मलाई थाहा थियो , फोटो मेरै भए तापनि त्यो मेरो वास्तविक छवि थिएन । ‘वाउ’ गर्नेहरूलाई पनि वास्तविकता थाहा थियो । म सत्य लुकाएर खुसी भएँ  । उनीहरू शिष्टाचार देखाएर खुसी भए । कसैले पनि वचनको दरिद्रता देखाएन । मनुष्य आफूमा हुँदै नभएको रूप , गुण र योग्यताको बखान सुनेर पनि खुसी हुँदो रहेछ । एउटा यस्तो ‘फेक’  दुनियाँ , जहाँ  दाता र प्रतिदाता दुबैलाई वास्तविकताको ज्ञान छ । सायद सभ्य मानिसहरूले थाहा पाएर पनि यस्ता कुरालाई कल्याणकारी झूट सम्झेर शिष्टाचार देखाउने गरेका होलान् । सायद शिष्टाचार एक आयामी हुन्छ ।’

आजको युगमा सामाजिक सञ्जालबाट टाढा बस्नु सम्भव छैन । यो सञ्जालले धेरैलाई आफ्नो भावना पोख्न प्रेरित गर्‍यो र कतिपयलाई लेखक पनि बनायो ।  यो हत्केलामा संसार भएको युग हो । यो युगमा अखबारमा , अनलाइनमा वा सामयिक प्रकाशनहरूमा साहित्यिक या समसामयिक लेख लेख्नेले पनि सञ्जालमा शेयर गर्नुपर्ने अवस्था छ । किताब लेख्नेका लागि पनि यो उपयोगी र नि:शुल्क प्रचारप्रसारको प्रभावकारी माध्यम सिद्ध भएको छ । अध्ययनशील विद्यार्थीका लागि यो लाभदायी ‘प्लेटफर्म’ हो । हार्वर्ड विश्वविद्यालयको एक अध्ययनले यदि सम्यक् उपयोग गर्न जानियो भने यो शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक हुने देखाएको छ । यसको उचित प्रयोग गरेर आफ्नो योग्यता र व्यक्तित्वलाई उजागर गर्न सकिन्छ । यो आफ्नो अभिमत राख्नका लागि सबैभन्दा सफल माध्यम हो । सामाजिक सञ्जाल एउटा शक्तिशाली ‘मार्केटिङ टूल’ पनि हो । वृद्ध उमेरका मानिसका लागि त यो एक अनुपम वरदान नै हो । यसको सदुपयोग गर्दै सकारात्मक सोच र सभ्य एवं स्वस्थ जीवनको सन्देश दिन सकिन्छ । समाजमा राष्ट्रिय मेलमिलाप र सामुदायिक सद्भावका कुरा फैलाउन सकिन्छ ।

अन्त्यमा – सामाजिक सञ्जाल अश्लील , आक्रामक र घृणा फैलाउने सामग्रीले पनि भरिभराउ छ । उत्तेजक अभिव्यक्ति,  लज्जास्पद भिडियोहरू, अविश्वसनीय समाचार र भड्काऊ खालका सन्देशहरूले मानिसको मनलाई उद्वेलित पारिदिन्छन् । सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत सूचनाहरू राख्नु खतरापूर्ण हुनसक्छ । घुमघाम र पिकनिकमा खिचेका फोटोहरू घर फर्केर आएपछि मात्र राख्नु मनासिब हुन्छ । गहना पहिरेका र अङ्ग प्रदर्शन गरिएका तस्बिरहरू प्रत्युत्पादक हुन सक्दछन् । सामाजिक सञ्जालको माध्यमबाट कुनै अपरिचित मानिस नजिक हुन खोज्यो र प्रशंसा गर्न थाल्यो भने तुरुन्त सतर्क हुनु राम्रो । सञ्जालमा देखिने अधिकांश कुरा भ्रामक हुन्छन् । यसको अति प्रयोगले स्मरण शक्तिमा ह्रास आएर व्यक्तिको उत्पादकत्व क्षमतामा नकारात्मक असर पर्न सक्छ । यसको मायाजालमा अति आसक्त हुन थालियो भने  डिप्रेसनमा पनि जान सकिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस