सूचना दिन इन्कार गर्ने कार्यालय प्रमुखलाई कारबाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सूचना दिन इन्कार गर्ने कार्यालय प्रमुखलाई कारबाही


१८ माघ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ। आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गर्ने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको उल्लेख गरेको छ।

कारबाहीमा पर्नेमा पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख एवं कार्यकारी निर्देशक घनश्याम खतिवडा, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेल, रौतहटको राजपुत नगरपालिका कार्यालय प्रमुख बैजु ठाकुर र पद्मकन्या बहुमुखी क्याम्पस (बागबजार) का कार्यालय प्रमुख धनप्रसाद पण्डित छन्।

उनीहरूलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही गरिएको सूचना आयुक्त कमला वली थापाले बताइन् । 

परिच्छेद पाँचको सजाय तथा क्षतिपूर्ति सम्बन्धित व्यवस्थाको दफा ३२ मा मनासिव कारणबिना सूचना नदिएको वा दिन इन्कार गर्ने कार्यालय प्रमुख वा सूचना अधिकारीलाई रु. एक हजारदेखि २५ हजारसम्मको जरिवानाको व्यवस्था छ। जरिवानासँगै विभागीय सजायका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार खतिवडालाई रु. १५ हजार, पण्डितलाई रु. १५ हजार, पौडेललाई रु. दश हजार र ठाकुरलाई रु. दश हजारको जरिवानासहित विभागीय सजायका लागि पत्र पठाइएको सूचना आयुक्त थापाले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस