प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन गर्न रास्वपाको दबाब « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन गर्न रास्वपाको दबाब


१८ माघ २०७९, बुधबार


काठमाडौँ । रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहमति कार्यान्वयन गर्न दबाब दिन थालेको छ ।

सरकार गठन हुँदाको सहमतिअनुसार पाएका मन्त्रालय रास्वपालाई नै दिन आग्रह गर्दै त्यसो नगरे सरकारबाट बाहिरिने जानकारी गराइएको हो ।

‘विगतमा भएको सहमति कार्यान्वयन भएन भने रास्वपा सरकारमा बस्दैन,’ रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘प्रधानमन्त्रीले सहमति पालना गर्नु भएन भने घुस्रिएर सरकारमा बस्ने कुरा हुँदैन । कि पुरानो सहमति कार्यान्वयन हुनुपर्‍यो कि नयाँ सहमति हुनुपर्‍यो ।’

उनले सहमति विपरीत सरकारमा बस्दा भोलि थप हेपिने अवस्था बन्न सक्ने बताए ।

मङ्गलवार प्रधानमन्त्री प्रचण्डसँग भेट गरी रास्वपाका सभापति रवि लामिछानेले सरकारका विषयमा समयमै निर्णय गर्न ‘अल्टिमेटम’ दिएका थिए । उनले आफूलाई उपप्रधान एवं गृहमन्त्रीमा पुनः नियुक्त गर्न माग गरे । उनले ६ महिनाभित्र हुने निर्वाचनबाट आफू पुनः सांसद भएर आउने आश्वासन समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने मन्त्री बन्न हतारो नगर्न सुझाव दिएका थिए । उनले राहदानीका विषयमा छानबिन भइरहेको र सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ पनि आउन बाँकी रहेको भन्दै स्वार्थ बाझिने गरी मन्त्री नबन्न आग्रह गरेका हुन् ।

त्यसपछि सभापति लामिछानेले मङ्गलवार नै नेकपा (एमाले) का अध्यक्ष ओलीसँग पनि भेटवार्ता गरेका थिए । अध्यक्ष ओली लामिछानेलाई तत्काल मन्त्रीमा नियुक्त गरी गठबन्धन जोगाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस