प्रधानमन्त्रीद्वारा गृह मन्त्रालयबारे ओली र लिङ्देनसँग छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीद्वारा गृह मन्त्रालयबारे ओली र लिङ्देनसँग छलफल


१८ माघ २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग आज छुट्टाछुट्टै छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच गृह मन्त्रालयको जिम्मेवारी तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए भने त्यसअघि राप्रपाका अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री लिङ्देनसँग पनि कुराकानी भएको थियो ।

राष्ट्रपति चयनको विषयमा माओवादी र एमालेबाट फरक-फरक धारणा आइरहँदा पछिल्लो पटक गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा पनि सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनुपर्ने माग गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग छलफल गरेका थिए ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको चेतावनी छ भने सर्वोच्च अदालतबाट पूर्ण फैसला नआउँदासम्म गृह आफैँसँग राख्ने प्रधानमन्त्रीको योजना छ । सर्वोच्चको फैसलाअनुसार पुनः नागरिकता लिएका लामिछानेलाई गृह मन्त्रालय दिन एमाले पनि सहमत छ, तर राहदानीको विषय टुङ्गोमा नपुग्दासम्म मन्त्रालयको जिम्मेवारी नलिन लामिछानेमाथि दबाब बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस