गुणस्तरहीन औषधि बिक्री बढेको भन्दै निगरानी बढाउन विभागलाई निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुणस्तरहीन औषधि बिक्री बढेको भन्दै निगरानी बढाउन विभागलाई निर्देशन


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । 

मङ्गलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन् । उनले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए । 

उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाई प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे । उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरू प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । उनले यसमा विभाग ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए । उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरू लिएर आउन आग्रह गरे ।  

मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए । उनले नवीकरणसम्बन्धी कामहरू अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिए । 

मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए । उनले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताए । मन्त्री गिरीले स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभूत रूपले जनताले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस