सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


१६ माघ २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गोकर्णस्थित जगडोलमा निर्माण गरिएको ‘राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पटक सुशासन, विकास र समृद्धिका मानकहरु बनाउने बताएका हुन् । 

उनले भने, “परिवर्तन भए पनि सुशासन र विकासको अपेक्षा पूरा हुँदैन कि भन्ने जनताको चासो र चिन्ता छ, जनताको यो अपेक्षा पूरा हुन्छ ।”

उनले समृद्धि, सुशासन र सामाजिक न्यायको सपना पूरा गर्न वर्तमान सरकार निरन्तर कटिबद्ध रहेको समेत प्रस्ट पारे ।

नेपालमा अहिलेसम्म भएका शहीदका अभिलेख राख्ने र त्यसलाई राष्ट्रको सम्पत्ति र नेपाली जनताको आस्थाको धरोहरका रूपमा लिने उनको भनाइ छ ।

राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क निर्माणका निम्ति अर्थ मन्त्रालयबाट निकासा हुन बाँकी केही रकम जतिसक्दो चाँडो निकासाका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पार्क निर्माणलाई शहीदको सम्मान र शान्ति सम्झौताको स्मृतिको पार्कका रूपमा महसुस गरेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री दाहालले पार्कमा प्रथम शहीद लखन थापादेखि पछिल्लो आन्दोलनमा शहीद भएका शहीदका अभिलेखीकरण राख्ने कार्यको उच्च प्रशंसा गर्दै शहीदको सम्मान युग-युगसम्म अमर रहने विश्वास व्यक्त गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस