वाणिज्य विभागद्वारा दुई रेस्टुराँलाई एक-एक लाख जरिवाना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाणिज्य विभागद्वारा दुई रेस्टुराँलाई एक-एक लाख जरिवाना


१६ माघ २०७९, सोमबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा रेस्टुराँलाई नगद जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा विभागले काठमाडौँको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेस्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना गरेको हो । बजार अनुगमनका क्रममा उक्त दुई रेस्टुराँले व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाहीस्वरुप रु एक-एक लाख नगद जरिवाना गरिएको विभागका अनुगमन अधिकृत ध्रुव खनालले जानकारी दिए । 

उनका अनुसार होटेल तथा सेवा क्षेत्रअन्तर्गत पर्छन्, सोही अनुसार घरेलु कार्यालयमा दर्ता भएको हुनुपर्छ । यस्तै, सिनामङ्गलमा पाँच वर्षदेखि सञ्चालित बाजेको सेकुवाले समेत व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ । विभागको आज कारबाही गरेका होटेल तथा रेस्टुराँले तोकिएको जरिवाना रकम सात दिनभित्र भुक्तानी गर्नुपर्नेछ ।

विभागले आज होटेल तथा रेस्टुराँहरूले ग्राहकबाट अतिरिक्त सेवा शुल्क लिएको विषयमा समेत अनुगमन गरेको थियो । यही माघ ११ गते सर्वोच्च अदालतले होटेल तथा रेस्टुराँहरूले थप सर्भिस चार्ज लिन नपाउने व्यवस्था गरेपछि विभागले त्यसको अनुगमन गरेको हो । काठमाडौँको इन्द्रेणी फुडल्यान्ड, बेकरी क्याफे, रोयल एलिनाज, रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेस्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवाले राखेको मेन्युको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा केही होटेलले सर्भिस चार्ज र भ्याट लिएको पाइएको थियो । पहिलो चरणमा थप सर्भिस चार्ज लिन नपाउने व्यवस्थाका बारेमा मात्रै जानकारी गराइएको विभागले जनाएको छ । होटेल–रेस्टुराँहरूले श्रम ऐन ०७४ को दफा ८७ ९३० र श्रम नियमावली ०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए ।

सेवा शुल्कलाई खानाको मूल्यसरह अनिवार्य गरी उक्त सेवा शुल्कलाई बिक्रीको कूल मूल्यमा जोडी त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर थप गरेर पनि लिने गरेका थिए । सर्वोच्चले संविधानको धारा, ४४ र ११५ (१) को भावना र मर्मअनुकूल नदेखिएको भन्दै श्रम ऐन ०७४ को दफा ८७ ९३० र श्रम नियमावली ०७५ को नियम ८२ को व्यवस्था माघ ११ गतेदेखि लागू हुने गरी अमान्य र बदर घोषित गरिदिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस