मलेसियाका गृहमन्त्री इस्माइल नेपाल आउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मलेसियाका गृहमन्त्री इस्माइल नेपाल आउने


१५ माघ २०७९, आइतबार


काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले नेपालको भ्रमण गर्ने भएका छन् । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँगको भेटमा गृहमन्त्री इस्माइलले सोबारे जानकारी दिएका हुन् ।

इस्माइलले निकट भविष्यमा उनको नेतृत्व हुने उच्चस्तरीय नेपाल भ्रमणबारे जानकारी दिएका थिए । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरूसँग छलफल गर्ने बताइएको छ ।

पौडेलले गृहमन्त्रीसँग मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेका छन् ।

सो अवसरमा उनीहरुबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा सङ्ख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे बिचार विमर्श भएको थियो । नेपाली श्रमिकहरू शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो । 

उनीहरुबीच दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस