नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव


१२ माघ २०७९, बिहिबार


काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४ औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आयोजित विशेष समारोहमा उनले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको बताए ।

नेपाल र भारतबीच बेटीरोटीको सम्बन्धसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एक-अर्काका पूरकसमेत रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले भने, “ठूलो सङ्ख्यामा नेपाली नागरिकले भारतमा रोजगारी प्राप्त गरेका छन्, थुप्रै भारतीय नागरिकले नेपालमा रोजगारी प्राप्त गरेका छन् ।” यसबाहेक शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुवै देश एक अर्काको पूरक भएको उनको भनाइ थियो ।

नेपाल-भारतको भाषा, संस्कृति, भेशभूषासमेत एकजस्तो भएको तथा एक-अर्काको सुख, दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरूको समेत निकै ठूलो योगदान रहेको बताए ।

भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुक्खा बन्दरगाह नेपाली उद्योगी व्यवसायीलाई निकै सहयोगी बनेको बताउँदै उनले भारतीय लगानीकर्तालाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस