गिरीको माग अनुसार उच्चले दिएन आदेश, कारागार लैजाने बाटो खुल्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गिरीको माग अनुसार उच्चले दिएन आदेश, कारागार लैजाने बाटो खुल्यो


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । उच्च अदालत विराटनगरले मोरङ कारागारका चौकीदार कैदी अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आफ्नो स्थानान्तरणको निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दै कैदी गिरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले अन्तरिम आदेश नदिएपछि उनलाई मकवानपुर कारागार कार्यालय भीमफेदी लैजाने बाटो खुलेको छ ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले गिरीले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश नदिएको जानकारी दिए । गिरीले जेल सरुवा रोक्नका लागि अन्तरिम आदेशको माग गर्दै ३ माघमा रिट दायर गरेका थिए ।

कारागारका चौकीदारलाई कारागारबाट बाहिर हिँड्न छुट हुन्छ । विराटनगर कारागारमा रहेर बजारमा चन्दा आतङ्क मच्चाएको गुनासो आएपछि गिरीलाई कारागार व्यवस्था विभागले गत पुस २९ गते सरुवा गर्ने निर्णय भएको थियो ।

आफ्नो सरुवाको निर्णयका बारेमा अगाडि नै जानकारी पाएका चौकीदार गिरी कारागार भित्र बसेका छन् । उनका पक्षका कैदीबन्दीले सरुवाको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

गिरी २०७४ चैत २३ गते भन्दा अगाडि मोरङ कारागारमा चौकीदार थिए । कैदीबन्दीलाई यातना र बजारमा चन्दा आतङ्क मच्चाएको गुनासो आएपछि उनलाई २०७४ चैत २३ गते डिल्लीबजार कारागार लगिएको थियो । तर नेपाली काँग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएपछि उनी २०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागार आएर चौकीदार बनेका थिए ।

गिरी नेपाली काँग्रेसको स्थानीय नेताको संरक्षणमा छन् । दोस्रो पटक गिरीलाई मोरङ ल्याउने क्रममा कारागार भित्र विवाद भएको थियो । उनलाई मोरङ ल्याउनका लागि मोरङ कारागारका तीन जना चौकीदारलाई मोरङबाट अन्यत्र सारिएको थियो ।

गृहमन्त्री परिवर्तन भए लगतै गिरीको मोरङबाट स्थानान्तरण भएको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीको कैद भुक्तान अवधि फागुन ३ गते सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस