प्रेमको आत्मदाह : बेथितिको भयावह सङ्केत  « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

प्रेमको आत्मदाह : बेथितिको भयावह सङ्केत 


११ माघ २०७९, बुधबार


मङ्गलवार मध्यान्ह सङ्घीय संसद् भवन अगाडी आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह रोजका प्रेमप्रसाद आचार्यको फेसबुक नोट नै प्रस्ट्याउँछ कि देशमा सर्वसाधारण नागरिकलाई बाँच्न कति सकस हुँदै छ भनेर । अस्पताल पुर्‍याउँदा शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेका प्रेम प्रसादको उपचारकै क्रममा बुधवार बिहान निधन भएसँगै अनेक थरी बहस सिर्जना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट निस्किए लगत्तै उनले सडकमा आफैलाई आगो लगाएका थिए । 

सामान्य नागरिक भएर सरकारी सेवा लिन ठुलै युद्ध लड्नु पर्ने र समयमै काम हुँदा मात्र संसार जितेको भान हुने अवस्थाले हाम्रो सेवा प्रवाहको अवस्थालाई झल्काउँछ । सुशासन त पढ्ने, पढाउने र परीक्षा लेख्ने कुरा मात्रै हुन् । कुनै कार्यालयमा सेवा लिन भित्र पसेका नागरिकहरुमध्ये बाहिर आउँदा कति जनाको मुहारमा उज्यालो भेटाउनु हुन्छ, त्यही नै काफी छ, सुशासनको पारो मापन गर्न ।  

महँगिँदै गएको निर्वाचन प्रणालीले बढ्दै गरेको भ्रष्ट्राचार अनि पारिवारिक तथा अनेकथरीबादले झाँगिएको राजनीति, राजनीतिक फेरोमा रुमल्लिएको प्रशासन संयन्त्र र यी दुवै संयन्त्रलाई उपयोग गर्दै फस्टाएको बिचौलिया तन्त्रको चङ्गुलमा नराम्ररी फस्न पुगेको छ मुलुक । शासन व्यवस्था परिवर्तन भयो तर शासकहरूको व्यवहारमा परिवर्तन नहुँदा व्यवस्था नै बदनामित हुन पुग्यो तर अझै हाम्रो शासक/प्रशासकहरूको चेत खुलेन यही नै सबैभन्दा ठुलो विडम्बना भयो । 

मुलुकमा गरिखाने वातावरण नहुँदा बिदेसिनु परेको पीडा त छँदै छ, अव त होलाकी भनेर फर्केर केही गर्न खोज्दाका अवरोध र सास्ती त सुनिसक्नु छैन ।  राज्यले प्रदान गर्ने आधारभूत चिज वस्तुका लागिसमेत सोर्सफोर्स लाउनु पर्ने अवस्थाले नै दर्साउँछ कि राज्य प्रणाली कुन बाटोमा हिड्दैछ ? 

यी र यस्तै विकृतिको अन्त्यका लागि भन्दै राजनीतिमा आएर जनताले मतदान गरी पठाएकामध्ये एक राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेले एउटा नागरिकले  आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र भन्दै नयाँ राजनीतिक दल र नेताको रूपमा आशा जगाउन नसकेकोमा माफी माग्दै आत्माको चिर शान्तिको कामना गरेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि एक ट्टीट गर्दै उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक रहेको भन्दै बेलैमा गम्भीरता पूर्वक लिई उपचार खोजौँ भनेका छन् ।

अब अन्य केही व्यक्तिहरूले पनि विभिन्न माध्यमबाट आलोचना÷आत्मालोचनासहित वक्तव्यहरू आउनेछन् । केही दिन पछि ती त्यसै सेलाउने छन् । र, कुन दिन फेरी अर्को नागरिकले यस्तै नियति भोग्नु पर्ने हो, त्यसपछि पुनः प्रेमसमेतको नाम जोड्दै आलोचना/आत्मालोचना गरेर पन्छिने छन् । 

नागरिकमा देखिएको यो खाले जलनमाथि मल्हम लगाउने हो भने शासक/प्रशासकहरूले आजैदेखि आफ्ना कार्यशैली बदलौँ । मुलुकको विकास र प्रगतिका बाधक बनेका नीति नियमहरू परिवर्तन गरौँ र अनेकथरी वादबाट माथि उठ्दै इमानदारीपूर्वक त्यसको कार्यान्वयन गरौँ । 

प्रतिक्रिया दिनुहोस