म निलम्बनमा परेको छैन, जहाज उडाउँदै छु : क्याप्टेन विश्वकर्मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

म निलम्बनमा परेको छैन, जहाज उडाउँदै छु : क्याप्टेन विश्वकर्मा


१० माघ २०७९, मंगलबार


काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको भनिए पनि पाइलट विश्वकर्माले आफू निलम्बनमा नपरेको स्पष्ट गरेका हुन् ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको निर्देशन नमान्ने पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको थियो तर आफू उक्त उडानमा संलग्न नभएकाले निलम्बन नपरेको क्याप्टेन विश्वकर्माले बताए । उनले भने, ‘म हङकङ विमानस्थलमा यात्रुजस्तै भएर पछाडि बसेको थिएँ, त्यसमा मेरो कुनै संलग्नता छैन, यस्तो सूचना कसले दियो दियो । म अचम्ममा परेको छु, आज पनि मैले जहाज उडाउँदै छु ।’

उनले आफू आज राति सिङ्गापुर उडानमा जान लागेकोसमेत जानकारी दिए । उनले भने, ‘म विशेषज्ञ पाइलट हो, मैले कुनै गल्ती नै गरेको छैन भने किन निलम्बनमा पर्नु ? मत आज सिङ्गापुर फ्लाइटमा जाँदै छु ।’

उता नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमान्ने पाइलट उद्धव घिमिरे र राजेश कुशवाह तथा काठमाडौँबाट जापान उड्ने क्रममा ‘स्टान्डर अप्रेसनल प्रोस्युड्युल’ पालना नगरेको भन्दै प्रसन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले दिएको निर्देशनअनुसार निलम्बन गरिएको बताए ।

उनले पनि पाइलट नरबहादुर विश्वकर्मा उक्त फ्लाइटमा भए पनि निलम्बनमा भने नगरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस