‘एमाले सांसद कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘एमाले सांसद कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी’


८ माघ २०७९, आइतबार


काठमाडौँ । एमालेले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लक्ष्मी महतो कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको आरोप लगाएको छ । एमालेका सचिव रघुवीर महासेठले अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिईसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन भन्दै प्रश्न गरेका हुन् । यो मामिलामा गृह प्रशासन नै दोषी भएको उनले दाबी छ । सांसद महतोलाई पार्टीले वा पार्टीका नेताहरूले संरक्षण गरेको आरोपमा कुनै सत्यता नरहेको उनले बताए । 

कोइरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा संसद् भवनमा उपस्थित भएका थिए । ‘सांसद संसद् भवन छिर्दा पनि प्रहरी बाहिरिँदा पनि प्रहरी हुन्छ । तर पनि उनी पक्राउ नपर्नुमा गृह प्रशासनको मिलेमतो हो’, उनको भनाइ छ । उनले कानुनी कारबाहीबाट बचाउन पार्टीले कसैलाई प्रभावित नपारेको जिकिर गरे । 

सचिव महासेठले न्यायिक इजलासबाटै दोषी ठहर भएको व्यक्तिलाई गृहमन्त्रीले पनि निर्देशन दिनु नपर्ने धारणा राख्दै यसमा गृह प्रशासनकै कार्यशैली शङ्कास्पद भएको बताए । 

गृह मन्त्रालयले ज्यान मुद्दामा फरार एमालेका सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित निर्देशन दिएको दुई दिन बित्दासमेत उनी फेला परेका छैनन् । गृहमन्त्री रवि लामिछानेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदापनि उनी पक्राउ पर्न नसकेपछि लिखित रूपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका थिए । 

प्रहरीले उनको खोजी कार्य भइरहेको जनाए पनि पक्राउ भने पर्न नसकेका हुन् । मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका जवान प्रेम बहादुर विकको हत्या प्रकरणमा यादवलाई उच्च अदालतले दोषी ठहर गरेको थियो । हत्या आरोपका बीच उनी महोत्तरी १ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए । 

तत्कालीन राष्ट्रिय जनता पार्टीमै रहँदा मधेस आन्दोलनको क्रममा विकको हत्या भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस