काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाएका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताएका हुन्।
सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरीत हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे। संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरे पनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उनको भनाइ थियो।
पाण्डेले भने, ‘संविधानले नचिनेको, थाहा नपाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ भनेर जुन किसिमले कार्यपालिकाभन्दा म माथि छु, प्रधानमन्त्री त्यो उच्चस्तरीय संयन्त्रको सदस्य मात्रै हो भन्ने ढङ्गको उहाँको अभिव्यक्ति बुझ्न सकिन्छ। हामी स्पष्ट छौँ–प्रधानमन्त्रीभन्दा ठुलो कार्यपालिकामा कोही हुन सक्दैन हाम्रो संविधानअनुसार।’
उनले थपे, ‘कार्यपालिकामाथि धावा बोल्ने काम एकातिर भयो भने अर्को हिजो प्रतिनिधिसभा विघटन गर्ने कुरा असंवैधानिक थियो भनेर हामीले भन्यौँ। अदालतले भन्यो। दुई–दुई पटक अदालतले भन्यो। अदालतको भनेको विषयलाई पनि अन्तका नजिरहरू देखाएर, अन्तका दृष्टान्तहरू देखाएर हाम्रो संविधानमाथि जसरी धावा बोल्ने काम भयो, प्रतिनिधिसभा विघटन गर्न सकिन्छ भन्ने खालको धावा बोल्ने काम भयो, त्यसले व्यवस्थापिकामाथि पनि प्रश्न चिन्ह उठाउने काम भयो।’
सांसद पाण्डेले प्रतिनिधिसभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुने धारणासमेत राखे। नेपाली काँग्रेसले प्रतिपक्ष दलहरूको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ।







